close

दसनंग्रा खियाउनेको पीडा : चाडपर्व कुन चरीको नाम हो !

दसनंग्रा खियाउनेको पीडा : चाडपर्व कुन चरीको नाम हो !

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरी बर्दिबासको व्यस्त सडकमा तिहारको किनमेलले मानिसको ठूलो भीडभाड बढेको छ । कोही कपडा किन्न व्यस्त छन् भने कोही फलफूल, मिठाई किन्न । तर, सडकको एउटा कुनामा बसेर ढुंगा कुँद्दै दैनिक ८ सय रुपैयाँ कमाउने गौशाला निगौलका १६ वर्षीय सुरजकुमार थवईलाई न चाडपर्वको महत्त्व छ, न त कुनै रमाइलो नै ।


थवईको एउटै चाहना छ, किनमेल गरेर फर्किएका बटुवाले आफूले बनाएको जाँतो र सिलौटा किनिदिउन् । ढुंगा कँुदेर सिलौटा, जाँतो बनाउने सुरज मात्र हैनन, उनकी ५० वर्षीया आमा राधादेवी थवई, दिदी कवितादेवी र मामा सुनीलकुमारको पनि उही मेलोमा छन् ।कहिलेकाहीँ उनीहरूले बनाएका जाँतो र सिलौटा महिनाँैसम्म बिक्री हुँदैन । जाँतो, सिलौटा बेचेरै जीविकोपार्जनको माध्यम बनाएको थवई परिवारले कयाँै छाक खानासमेत नखाएको नमीठो सम्झना छ ।

 

‘पहिलाजस्तो बिक्री हुँदैन । आजकाल सबै काम मेसिनले गर्ने भएकाले जाँतो, सिलौटा बिक्री हुनै छाड्यो’, सुरज भन्छन् ।बर्दिबासको पूर्व जाने पीपलको आडैमा बसेर ढुंगा कँु्दैद बिहान–बेलुकाको छाक टार्दै आएका उनीहरूको बस्ने कोठा पनि छैन । घुमन्ते, फिरन्तेजस्तै उनीहरू जहाँ बढी व्यापार हुन्छ, त्यही जान्छन् ।


कहिले सर्लाही, कहिले महोत्तरीका गाउँ घुमेर दिनभरि ढुंगा कँुदेर बनाएको सिलौटा बेच्नु थवई परिवारको दैनिकी हो । वीरगन्जवाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झन्डै १८ वर्ष व्यापार ग¥यो । सरकार भूमिहीन, सुकुम्बासीलाई जग्गा तथा लालपुर्जा वितरण गरेर भूमिपति बनाउने भाषण गर्न नथाके पनि यो परिवारलाई यसले समेटेको छैन ।


मजदुरी गर्ने परिवारको न जग्गा छ, न त कुनै बस्ने ठेगानै । नेपालका नागरिक भए पनि पहिचानविहीन नागरिकताको प्रमाणपत्र बोकेर उनीहरू अहिले सर्लाहीको बागमती किनारबाट ढुंगा ल्याउँछन् ।  अनि, सुन्दर सिलौटा र जाँतो कुँदेर बेच्ने पर्खाइमा बस्छन् । थवई परिवारको यो परम्परागत पेसा नै हो ।

 

सुरजका बुबा र हजुरबुबाले सम्हाल्दै आएको सिलौटा र जाँतो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका छन् । तर, समाज यान्त्रिकीकरण हुँदा अहिले जाँतोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन् । सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन् । यसको फलस्वरूप थवई परिवारको जीविकोपार्जन कष्टकर बन्दै गएको छ ।

 

सुरजकी ५० वर्षीया आमा राधादेवीले २० वर्ष अगाडि यही जाँतो र सिलौटा बनाएर जीविकोपार्जन मात्र नभई केही पैसाको जोहो गरेको सम्झना छ । उनी भन्छिन्, ‘अहिले व्यापार अत्यन्त कम छ । व्यापार नहुँदा खानपिन धौ–धौ बन्दै गएको छ । अब यही पेसाबाट बाँच्न सकिँदैन होला ।’

 

उनका छोरा सुरजको पनि अन्य कुनै सीप छैन । कमाउन बाहिर पठाउन पैसा छैन । १६ वर्षीय सुरजलाई यस्तै लाग्छ, अब यो पेसाबाट बाँच्न गाह्रो छ । सुरजको औसत किशोर–किशोरीको जस्तै पढने चाहना थियो । केटाकेटीहरू विद्यालय जाँदा उनको मन कटक्क खान्छ । उनी भन्छन्, ‘गरिबीकै कारण पढ्ने, लेख्ने चाहना मात्र हैन, परम्परागत पेसा सम्हाल्दा र बिहान–बेलुकाको छाक टार्ने चिन्तामै दिन बित्छन् ।’


सरकार आपूहरूका लागि नभएको सुरजसँगै काम गर्दै आएकी कवितादेवीको गुनासो छ । २०५६ देखि नै सरकारले भूमि आयोग बनाएर भूमिहीन, सुकुम्बासीका लागि जग्गा तथा लालपुर्जा वितरण गर्ने घोषणा गरेको थियो । तर, लालपुर्जा हुनेखाने, संभ्रान्त वर्गले पाए । थवईजस्ता गरिबले न जग्गा पाए, न लालपुर्जा नै । यतिसम्म कि सरकारबाट उनीहरूले सहानुभूतिसमेत पाउन सकेनन् ।

 

कोरोना महामारीको पीडा सबैभन्दा बढी यही वर्गले भोग्नुप¥यो । महामारीकै कारण कयाँै मजदुरले काम गुमाए । थवईजस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौँ दिन भोकै बसे । तर, पीडा सुन्ने कोही भएन । कोरोना महामारीमा कयौँ रात पानी मात्र पिएर सुतेको राधादेवीसँग अनुभव छ । हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाँतो त्यत्तिकै थन्क्याउन बाध्य हुनुपर्दा रोगभन्दा भोकले मर्ने स्थिति आएको राधादेवी सुनाउँछिन् ।


त्यसो त, थवई परिवार आफूले बनाएका सामान बिक्री नभए गाउँ–गाउँ पुग्छन् तर महामारीको समय निस्कनै नपाइएपछि भोकभोकै बस्नुपरेको पीडा सुनाउँछन् । थवईजस्ता परिवारलाई चाडपर्वको कुनै मतलव छैन । चाडपर्व के–के हुन्छन्, कसरी मनाउने, रमाइलो कसरी गर्नेजस्ता विषयमा थवई परिवार अनभिज्ञ छ ।