close

मिथिलाञ्चलमा छठ पर्वको उल्लास, खरना मनाइँदै

मिथिलाञ्चलमा छठ पर्वको उल्लास, खरना मनाइँदै

Trulli
ADVERTISEMENT

सप्तरी– छठ पर्वको तेस्रो दिन मंगलबार सप्तरीसहित मिथिलाञ्चलमा  खरना मनाइँदै छ । मंगलबार बेलुकी चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइने चलन छ । दिनभर उपवास बसेका छठ ब्रतालुले बेलुकी नियम, निष्ठाका साथ खिर बनाएर आफूसहित घरपरिवारका सदस्यलाई खुवाउँछन् ।


पारिवारिक एवं सन्तानको सुख–समृद्धिको कामना गरी नियम, निष्ठापूर्वक मनाइने यो वर्षको छठ पर्वको पहिलो दिन आइतबार ब्रतालुले माछामरुवा तथा तामसी भोजन खाए । सोमबार नुहाएर अरबा अरबाइन एवं चोखिलो खानेकुरा खाएपछि विधिवत रूपमा सुरु भएको हो । यद्यपि छठको विधि भने आइतबारदेखि नै सुरु भएको हो ।


पर्वको मुख्य दिन बुधबार बेलुकी छठका पूजा सामग्री जलाशय, घाटमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यको अर्घ दिइन्छ । ५ दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन माछमरुवा नखाने, दोस्रो दिन ब्रतालुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, तेस्रो दिन प्रसादको रूपमा खिर ग्रहण गरी खरना गर्ने, चौथो दिन अस्ताउँदो सूर्य र पाँचौँ दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुनेछ ।


छठको मुख्य पर्व अर्थात् अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । छठ पर्व पाँचै दिन मनाइए पनि माछा–मरुवा नखाने दिनलाई मुख्य विधि नमान्दा चार दिन मात्र पर्व मनाउने गरिएको हो । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायत सामग्री छठी मातालाई चढाइन्छ ।

 

त्यस्तै, प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्छन् । छठ पर्वमा सूर्य भगवान् अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकार नियम, निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व पनि मानिएको छ ।