close

तिहारमा धपक्कै भयो तिलोत्तमा 

तिहारमा धपक्कै भयो तिलोत्तमा 

Trulli
ADVERTISEMENT

रूपन्देही–सफा सहरको उपमा पाएको रूपन्देहीको तिलोत्तमा नगरपालिका तिहारका बेला झनै सुन्दर देखिएको छ । बुटवल वा भैरहवाबाट आउने जोसुकैले तिलोत्तमा प्रवेश गरेको अनुभूति उज्यालो चमकधमक सडकबाटै थाहा पाउँछन् । उज्यालो पर्व तिहारको विशेषता नै हो, झिलीमिली । तिलोत्तमाले प्रशासकीय भवन नै शृंगार्नुका साथै परम्परागत देउसीभैसो कार्यक्रमसमेत गरिरहेको छ । संस्कृति, भाषा, भेष र चाडपर्वको रहनसहन जोगाउन तिलोत्तमाले चलाएको अभियान नमुना लाग्छ ।


जोगीकुटीदेखि कोटिहवा क्षेत्रका मुख्य सडकका सबै पोलमा टाँगिएका उज्यालो बत्ती र झिलीमिलीले सबैको ध्यान यतिबेला तिलोत्तमातिर तानेको छ । धार्मिक मान्यतै छ, तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने । तर, वर्ष दिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियो बत्तीले धपक्क बाल्ने चलन छ । सोहीअनुरूप रूपन्देहीको तिलोत्तमाले यो वर्ष नगर नै झलमल्ल बनाएको छ । 


विभिन्न नमुना कार्य र सडक सौन्दर्यका कारण चर्चा बटुलेको नगरभित्रको मुख्य सडक उज्यालो सडकका रूपमा परिचित छ । नगरलाई उज्यालो बनाउन नगरप्रमुख वासुदेव घिमिरे आफैं खटिएका छन् । उनले सडकमा लाइट र झ्यालर जडान गर्न निर्देशनसँगै आफैं उपस्थित भएर अवलोकनसमेत गरेका हुन् ।


नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियान निरन्तर रहेकाले तिहारका लागि विशेष उज्यालो योजना कार्यक्रम ल्याइएको उनले जानकारी दिए । कोभिड– १९ को कारण सुस्ताएको शिक्षा, पर्यटन, यातायातलगायत आर्थिक क्षेत्रलाई गति दिन र तिहारलाई रमाइलोसँग मनाउन नगरप्रमुखको घिमिरको आग्रह छ । ‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ नारा लिएको नगरले नगरपालिका क्षेत्रभित्रका मुख्य सडकका पोलमा आकर्षक बत्ती र झ्यालर राख्ने काम सुरु गरेको छ ।


सहरी सौन्दर्यकरणअन्तर्गत नगरपालिकाको वार्षिक योजनाअनुसार नगर क्षेत्रभित्र पर्ने सिद्धार्थ राजमार्गको कोटिहवादेखि योगीकोटिसम्मका ३४० वटा सडकमा रहेका पोलमा आकर्षक बत्ती र झ्यालर राख्न लागिएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । सडकमा राखिएका बत्ती र झ्यालर विभिन्न रङ र आकारका हुनेछन् ।
‘सहरी सौन्दर्यकरणअन्तर्गत नगरपालिकाको वार्षिक योजनाअनुसार दिपावलीमा नगरका मुख्य सडकमा बत्ती र झ्यालर राखेर नगरलाई थप आकर्षक र सुन्दर बनाउन लागेका हौँ,’ नगरपालिकाको सुन्दरता कायम राखिराख्न सके मात्र नगरबासीमा खुसियाली आउनेछ ।’


सुरुमा नगर क्षेत्रभित्र पर्ने सडकका पोलमा अल्टरनेटिभ रूपमा बत्ती र झ्यालर राख्ने तयारी भए पनि दिपावलीमा नगरपालिकालाई आकर्षक बनाउन ३ सय ४० वटा पोल र नगरका मुख्य चोकको दायाँ–बाँया बत्ती एवं झ्यालर राख्न लागिएको उनले सुनाए । नगरका मुख्य सडक र मुख्य चोकको दायाँ–बाँया आकर्षक बत्ती र झ्यालर राख्दा करिब ५ लाख रुपैयाँ लागत लागेको नगरपालिकाका प्रवक्ता श्रीले बताए ।


पछिल्लो समय पर्यटन प्रवद्र्धन र संस्कृति जोगाउने अभियानको तिलोत्तमा नगरबासी मात्र नभएर बाहिरबाट आउजाउ गर्नेले समेत तारिफ गरेका छन् । अहिले तिलोत्तमा नगरका मुख्य सडकको तस्बिर खिच्ने, सेल्फी लिने र टिकटक भिडियो बनाउनेको समेत लर्को लागेको छ ।