close

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छठ 

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छठ 

Trulli
ADVERTISEMENT

सप्तरी– बुधबार सप्तरीसहित मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइँदै छ । परिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम निष्ठापूर्वक मनाइने यो वर्षको छठ पर्वको पहिलो दिन आइतबार ब्रतालुले माछामरुवा तथा तामसी भोजन खाएका थिएनन् ।

 

सोमबार नुहाएर अरबा अरबाइन एवं चोखो खानेकुरा खाएपछि विधिवत रूपमा छठ सुरु भएको हो । यद्यपि छठको विधि भने आइतबारदेखि नै सुरु भएको हो । कोरोना महामारीको प्रभावका बीच बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै छ ।

 

बुधबार छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र बिहीबार उदाउँदो सूर्यको अघ्र्य दिइन्छ । पाँच दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन माछमरुवा नखाने, दोस्रो दिन ब्रतालुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, तेस्रो दिन प्रसादको रूपमा खिर ग्रहण गरी खरना गर्ने, चौथो दिन अस्ताउँदो सूर्य र पाँचौँ दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठ समापन हुन्छ ।

 

छठको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यको अघ्र्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अघ्र्य दिने दिनलाई पारन भनिन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायत सामग्री चढाइन्छ । प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।

 

अघ्र्य दिने ब्रतालु ४८ घन्टासम्म पानी नखाई उपबास बस्ने गर्छन् । यो पर्वमा सूर्य भगवान्लाई अघ्र्य दिन तयार गरिने परिकार अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व मानिन्छ । छठ पर्वको अन्तिम दिन बुधबार मिथिलाञ्चलका नदी, तालतलैया, पोखरीलगायत स्थानमा श्रद्धालुको भीड लागेको छ ।