close

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

Trulli
ADVERTISEMENT

मार्तडी– बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

 

बाजुराका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।     उनका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्को भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।

 

यहाँका पूर्वी तथा उत्तरी भेग कोल्टी–मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर  १८ का दरले  ७५० रुसैयाँ भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए । 

 

उनका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीले प्रतिकिलोमिटर  १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ ।

 

साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन÷पेट्रोल÷डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर  १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको उनले बताए  । प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताए ।

 

यस्तै डिजेल÷पेट्रोलमा पनि तोकिएभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाजुराले पटक–पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोके पनि जीप व्यवसायीले यात्रुबाट चर्को भाडा लिन छाडेका छैनन् ।