close

लथालिंग अवस्थामा पुग्यो केन्द्रबाटै सञ्चालित बालगृह

लथालिंग अवस्थामा पुग्यो केन्द्रबाटै सञ्चालित बालगृह

Trulli
ADVERTISEMENT

भक्तपुर– संरक्षण अभावका कारण भक्तपुरमा केन्द्रबाटै सञ्चालित बालगृहको अवस्था दयनीय छ । बालगृहमा रहेका दुर्गन्धित शौचालयका कारण नाक थुनेरै सौच गर्नुपर्ने अवस्था छ । परोपकार बालग्राम केन्द्रमा रहेका चार वटै शौचालय नाम मात्रका छन् । सफाइ नगरिँदा शौचालयमा दुर्गन्धित भएका छन् ।


चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको बालग्राममा हाल ६ जना मात्रै बालक छन् । तर, उनीहरूको स्वास्थ्य, सामाजिक र मानसिक विकासका आवश्यक सामग्री अभाव देखिएको छ । शौचालयमा जाने अवस्था छैन । धारा खिया लागिसकेका छन् । संरक्षणमा कसैको चासो देखिँदैन । ‘हाम्रो त बानी परिसक्यो,’ एक बालकले भने । 

 

६ जना बच्चाका लागि २ जना सहयोगीको व्यवस्थापन गरिएको छ । बालगृहका लागि आवश्यक सामग्री ओसारपसार गर्न थप एक जनाको व्यवस्था गरिएको छ । ती बालकले भने, ‘उहाँहरू खाना बनाउने समय आउनुहुन्छ अनि घर जानुहुन्छ । दुई जना दाइ र दिदी पालैपालो आएर खाना बनाउने र खुवाएर जानुहुन्छ ।’

 

७ दशक अगाडि सञ्चालनमा आएको सो बालग्रामलाई मुलुकभरकै पहिलो बालगृहको रूपमा लिइन्छ । २००४ मा स्थापित बालगृह स्थापनाको एक दशकपछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आएको हो ।


२०५७ तिर बालगृह र वृद्धाश्रम सञ्चालन गर्न भवन निर्माण गरिएको थियो । हाल बालग्रामका तीन वटा भवन छन् तर तीन वटै भवनको अवस्था दयनीय छ । कुनै भवन झारले छोपिन थालेका छन्, कतै झ्याल छ, खापा छैन । कतै ढोका छ, खापा छैन त शौचालयदेखि भान्साको अवस्था पनि उस्तै दयनीय । 

 

भवन वरपर बाख्रा र गाई चराउने गरिएको छ । ‘हामीले वनमा चराउन ल्याएका हौँ । तर, यहाँका भवन वरपर प्रशस्त घाँस रहेकाले वस्तुभाउ यही चराउँछौँ’, एक स्थानीयले भने, ‘नजिकै जंगल भएकाले राती जंगली जनावर आउँछन् ।’

 

जग्गा विवादले लथालिंग


लामो समयदेखि केन्द्र सञ्चालनमा आए पनि जग्गा विवादका कारण अव्यवस्थित भएको सरोकारवाला निकायको दाबी छ । केन्द्रका सुपरभाइजर मनोहर खनालका अनुसार भवन भएको उक्त जग्गा सरकारले वीर अस्पतालको नाममा हस्तान्तरण गरेको छ । केन्द्रको नाममा जग्गा नरहेकाले तीन वर्षयता भवन सुधारका लागि कुनै काम भएको छैन ।


 
‘हामीलाई कसैले सहयोग गरेका छैनन् । न सरकारकै सहयोग छ, न त गैरसरकारी निकायको । हामी आफैंले जम्मा गरेको पैसाले केन्द्रका बालबालिकालाई पढाउने र खुवाउने गरेका छौँ,’ उनले भने, ‘हाम्रो नानीहरू कोही डाक्टर पढ्दै छन् । कोही इन्जिनियर त केही काम गर्दै छन् । बाहिरी वातावरण अव्यवस्थित भए पनि भित्र राम्रो व्यवस्था गरेका छौँ ।’ 

 

नानीहरूलाई चाँगुनारायण माध्यमिक विद्यालयमा भर्ना गरिएको र खानेकुराको राम्रो व्यवस्था रहेको उनको दाबी छ । तर, कार्यालय सहयोगीले चाहेको समय खाद्यान्न सामग्री नआउने र जस्तो पठाइने गरेको छ, त्यस्तै खानेकुरा पकाएर बालबालिकालाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो पोखे । 

 

खनालका अनुसार जग्गा विवाद अन्त्य गर्न चाँगुनारायण नगरपालिका र वीर अस्पतालसँग पटक–पटक कुरा गरे पनि सुनुवाइ हुन सकेको छैन । अबको शैक्षिक सत्रबाट त्यहाँ रहेका सबै नानीहरूलाई केन्द्रीय कार्यालयमै पठाएर केन्द्र नै बन्द गर्ने योजना रहेको उनले बताए । 

 

नगरपालिकाको आदेश अवज्ञा


नगरपालिकाले नै लामो समयदेखि बालविकास केन्द्र निरीक्षण, अनुगमनका क्रममा अव्यवस्थित भएको देख्दै आएको छ । पटक–पटकको अनुगमनमा केन्द्रको अवस्था सुधार्न वा केन्द्रलाई अन्यत्र सार्न आग्रह गरे पनि सुनुवाइ नभएको नगरपालिकाको तर्क छ । 

 

नगरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निलाकुमारी घिमिरेले गत वर्ष अनुगमन गर्दा अव्यवस्थित र दयनीय अवस्था देखिएकाले नगरपालिकाले केन्द्रलाई पत्र काटेर पठाए पनि हालसम्म लिखित र मौखिक जवाफ नआएको बताइन् । 

 

‘बालविकास केन्द्र संघ सरकारमा दर्ता भएर सञ्चालनमा छ । यस्तो अवस्थामा हामीले केही गर्ने अधिकार पनि छैन,’ उनले भनिन्, ‘काठमाडौंको भीमसेनस्थान परोपकार केन्द्रसँग पनि कुरा गरेका छौँ । पुनः पत्र पठाउँछौँ । अब पनि सुनुवाइ वा सुधार नभए केन्द्रमै उजुरी गर्छौं ।’ 

 

नगर उपप्रमुख बिना बास्तोलाले अनुगमनका क्रममा बालविकास केन्द्रलाई सुधारिन अन्यथा बन्द गरिदिनसम्मको चेतावनी दिए पनि केही नभएको सुनाइन् । पटक–पटकको अनुगमनमा जाँदा पनि अवस्था झनै नाजुक बन्दै गएको उनको भनाइ छ ।

 

‘गत वर्ष अनुगमन गरेको भोलिपल्टै केन्द्रका लागि सिरक, डसना लगिएको रहेछ । तर, सरसफाइ, भवनको सुरक्षा र संरक्षणमा केही सुधार भएको छैन,’ उनले भनिन्, ‘सरोकारवाला व्यक्ति सम्पर्कमै आउँदैनन् ।’