close

तिलोत्तमालाई बालमैत्री नगर बनाउने सामूहिक प्रतिबद्धता 

तिलोत्तमालाई बालमैत्री नगर बनाउने सामूहिक प्रतिबद्धता 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन सञ्चारकर्मीले सामूहिक प्रतिबद्धता जनाएका छन् । तिलोत्तमालाई २९ मंसिर २०७८ मा बालमैत्री नगर घोषणा गर्ने तयारीअन्तर्गत आइतबार भएको अन्तरक्रियापछि सञ्चारकर्मीले प्रतिबद्धता जनाएका हुन् । सञ्चारकर्मीले सामूहिक प्रतिबद्धतामा हस्ताक्षरसमेत गरेका छन् । तिलोत्तमा नगरलाई बालमैत्री बनाउन आवश्यक सम्पूर्ण सूचकको पालना गर्दै अगाडि बढ्ने नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

 

आवश्यक सहयोग तथा समन्वयका लागि सञ्चारकर्मीलाई आग्रह गर्दै उनले व्यावहारिक रूपमै बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाए । अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेले बालमैत्री नगर घोषणाको थालनी गरेर तिलोत्तमाले अन्य स्थानीय तहलाई सकारात्मक सन्देश दिएको दाबी गरे ।

 

दिगो विकासका लक्ष्य हासिल गर्न पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताउँदै उनले मुलुकको आर्थिक विकासमा सबै स्थानीय तह बालमैत्री हुनुपर्नेमा जोड दिए ।


दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायलाई बालमैत्री घोषणा लक्ष्यअनुरूप तिलोत्तमाले रूपन्देहीमा पहिलो र उदाहरणीय काम थालनी गरेको उनले बताए ।

 

कार्यक्रममा तिलोत्तमाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरबासी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा कर्मचारीको सामूहिक पहलमा मात्रै तिलोत्तमालाई बालमैत्री नगर बनाउन सम्भव भएको उल्लेख गरे ।


कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष अमृता अनमोल, पूर्वउपाध्यक्षद्वय दिनेश पाण्डे र निरु गौतमलगायत रूपन्देहीका २ दर्जन बढी पत्रकारले तिलोत्तमालाई बालमैत्री नगर बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।