सुनसरीको पूर्व–पश्चिम राजमार्गदेखि ३० किलोमिटर दक्षिणमा पर्छ, हुस्की चेकपोस्ट । भारतको घुर्ना बजारको नेपालतर्फको चेकपोस्ट पुग्न १२ किमि कच्ची सडक पार गर्नुपर्छ । त्यही सडकले पुर्याउँछ, नेपालको अन्तिम सिमाना ।
चेकपोस्टमा बन्दुकसहितका प्रहरी जवान बसेका छन् । सडकको एकातिर मात्र बाटो खुला छ भने बाँकी भागमा काँडेतार लगाइएको छ । चेकपोस्टमा राखिएको बाँस पनि मक्किएर पुनः मर्मत गरिएको छ ।
चेकपोस्ट सामुन्ने देखिने नीलो घुम्तीसँगै जोडिएको रुखमा बाँधेर एउटा छाप्रो हालिएको छ । पुरानो त्रिपालले बेरिएको छाप्रोभित्र केही जवानहरू सुतिरहेका छन् । कोभिड– १९ को सचेतनामूलक ब्यानरले छाप्रोको बाहिरी भाग पूरै ढाकिएको छ ।
यो घुम्ती र छाप्रो सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको कार्यालय हो । बर्खे पानी छेक्न नसक्ने गरी बनाइएको छाप्रोबाट नायब निरीक्षकको कमान्डमा तैनाथ १३ जनाको टोलीले सीमा निगरानी गरिरहेको छ ।
छाप्रोमा बस्न मात्र होइन, खान र सौचालय जान पनि हम्मे पर्छ । जवानहरूले एक किमि टाढाको बाँसघारीमा कामचलाउ सौचालय बनाएका छन् । कम्मरसम्म पानी आउने पोखरी तरेर र जुत्ता–चप्पल हातमा बोकेर सौचालय जाँदा पनि बाँसघारीमा सर्पको बिगबिगै उस्तै रहेको उनीहरू सुनाउँछन् ।
३ किमि टाढाको विक्रमपुर बीओपीबाट बिहान–बेलुकाको खाना आउँछ । पानी परेका बेला गाडी फस्ने डरले खानेकुरा आउँदैन । ग्यास र चुल्हो अभावमा आफैं भान्से भएर खान समस्या परेको उनीहरूको दुःखेसो छ ।
एकै पटक सयौंको संख्यामा स्थानीय आएर सिपाहीका बन्दुक खोस्ने र भौतिक आक्रमण गर्ने गरेका छन् । सीमा निगरानीमा बसेका सशस्त्र प्रहरी देशबासीबाटै असुरक्षित महसुस गरिरहेका छन् ।
चेकपोस्ट वरपर स–साना छाप्रा छन् । सरकारी जग्गामा बसेका भूमिहीन सुकुम्बासीको कमाइको अन्य कुनै स्रोत छैन । भारतबाट समान ल्याएर बेच्नु नै उनीहरूको मुख्य आम्दानी बनेको छ । छेवैको नहरले नेपाल–भारतको सीमा कोरेको छ ।
नहर वारपार गर्नेहरू त्यत्तिकै हुन्छन् । खाली झोला लिएर जाने र झोला भरेर नेपाल फर्कनेको ताँती लस्करै हुन्छ । कतिले साइकलमा र केहीले टाउकोमा हालेरै भए पनि चामलका बोरा पारिबाट ल्याइरहेका हुन्छन् । स्थानीयलाई भारतको बजार जानैपर्ने बाध्यता पनि छ । नेपालतर्फको १२ किमि वरको भुटाहा बजार स्थानीयले ल्याएका सामान खरिद बिक्रीमा बढी उपयोगी छ ।
दाइजोका वेदना
किताबनी खातुनका चार छोरी र एक छोरा छन् । जेठी छोरीको बिहे भएको २ वर्ष बित्यो । दुई लाख नगद र एउटा मोटसाइकल दिएर ज्वाइँ किन्नुपर्यो । छोरीको उमेर बढ्दै गएपछि विवाह नहुने डरले मागेजति दाइजो (दहेज) दिएको उनी सुनाउँछिन् । १८ वर्ष कटेपछि ज्वाइँ पाउन गाह्रो हुने उनी सुनाउँछिन् । पहिला साइकल र केही हजार रुपैयाँमा हुने विवाहलाई अहिले लाखभन्दा बढी पैसा र अनिवार्य मोटरसाइकल चाहिन्छ ।
समस्याका चाङ जताततै छन् । समसाद खातुन र सुकुनी खातुनको पनि समान समस्या छ । नेपाल–भारत सीमा नजिक हरिनगर गेटकै छेउमा केही छाप्रा लहरै छन् । त्यसमध्ये सुरुमै उनीहरूको छाप्रो पर्छ । सोही छाप्रोअगाडि बाँसका सामान बुन्दै छिन्, सुकुनी । उनका पनि तीन छोरी र दुई छोरा छन् । जेठो छोरा घरजम गरेर परिवारसहित इनरुवा बजारमा बस्दै आएका छन् भने कान्छो सानै छ ।
जेठी छोरीको विवाह भइसक्यो । बाँकी दुई छोरीको विवाहको कुरा चलेको दुई वर्ष पुगे पनि भनेजति दाइजो दिन नसक्दा अहिलेसम्म टुंगो छैन । जेठी छोरीको विवाहको कर्जा तिर्नै हम्मेहम्मे परिरहेको बेला बाँकी दुई छोरीको विवाह उतार्न पहाड उचाल्नुजत्तिकै सकसपूर्ण छ ।
किताबनी र सुकुनीको जस्तै पीडा सीमाका हरेक नेपालीमा छ । मुस्लिम समुदायको संस्कारभित्रको दाइजो प्रथा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा देखिन थालेको छ । सहर, बजार आसपास लुकीछिपी दाइजो लिने–दिने गरे पनि सीमा क्षेत्रमा खुलमखुल्ला मोलमोलाइ हुने गरेको छ ।
अवैध आम्दानीको धन्दा
बेचनी खातुन र उनका श्रीमान् हरिनगर गाउँपालिका कार्यालयबाहिर टोलाइरहेका छन् । धान खेती गरेर परिवार पाल्दै आएको खातुन परिवार अहिले कृषि पेसाबाट टाढा छ । छोराहरूले भारतबाट ल्याएको सामान ल्याएर बिक्री गरेर आम्दानी लिने गरेका छन् । राजस्व नतिरी सामान ल्याउन सकिने भएपछि उनका दुइटै छोरा यसमा लागेका छन् । दैनिक पाँच पटकसम्म सामान आउजाउ गराउने उनीहरूले भुटाहा र इनरुवा बजारमा ल्याएर बिक्री गर्छन् । घरायसी प्रयोगका लागि भनेर ल्याइने सामग्री बिक्री गरी गुजारा चलाउने र आम्दानी गर्ने स्थानीयको संख्या दैनिक बढिरहेको छ ।
सुरक्षा चुनौती
०७५ भदौ ४ मा हरिनगर गाउँपालिकाको भुटाहा बजारमै खुर्सिद आलमलाई गोली दागेर हत्याराहरू भारतीय सीमातिर लागेको स्थानीय बताउँछन् । हत्या भएको तीन वर्ष पूरा भइसक्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन । सुनसरी प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरे पनि अहिलेसम्म छेउटुप्पो लागेको देखिन्न । खुला सीमा र कमजोर सुरक्षा उपस्थितिका कारण सीमा क्षेत्रमा आपराधिक घटना हुने गरेका छन् । सोधपुछ र केरकार गर्दा प्रहरी जवानहरू आफँै असुरक्षीत बन्नुपर्ने बाध्यताका कारण यस्ता घटनाले प्रश्रय पाउँदै गएका छन् ।