सप्तरी–तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रूपमा रहेको सामाचकेवा पर्वको रौनक बढ्दै गएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुका लागि कामना गरिने पर्व हो ।
कात्तिक शुक्ल द्वितीया तिथि अर्थात् कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यो पर्वका लागि कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रूपमा लिने गरिएको छ ।
पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायत मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्व सम्पन्न गर्छन् ।
काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायत मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाए त्यसलाई ‘चकेवा’ भन्ने गरिएको पकरी वडा नम्बर १ की प्रमिला यादवले बताइन् । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रूपमा आकर्षणमा कमी आएको छ ।भविष्य पुराणमा उल्लेख गरिएअनुसार सामाकी नोकरानी डिहुलीले सामा बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुटो कुरा कृष्णसमक्ष लगाइन् । भगवान् कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए ।
सामाका भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरे । तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा भ्रमण गरी पर्व मनाउँछन्, उनका दाजुभाइको दीर्घायु हुने वरदान सामाले दिपछि यो पर्व सुरु भएको धार्मिक मान्यता छ ।
यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउन थालिन्छ । सो दिन सिरी सामा, दोस्रो दिन चकेवाका साथै पातीमा बसेका सात वटा चरालाई सतभैया भनिन्छ । त्यसपछि क्रमशः खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्यचक्रका कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाउने गरिएको महादेवा पालिका वडा नम्बर १ की समतोलिया सदाले सुनाइन् ।
पर्वमा सबैभन्दा रोचक पक्ष दिदीबहिनीले पर्व अवधिभर बेलुकीको समय दाजुभाइको प्रशंसाका साथै आशीष दिने खाले गीत गाउँछन् । आफूलाई चाहिएका सरसामान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि आग्रह गर्छन् ।
सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्छन् । छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोका आकृति बनाई राती ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीसँगै मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको स्थानीय सविता यादवको भनाइ छ ।
चौरमा सबै महिला आ–आफ्ना डाला एक ठाउँ राखी चारैतिर वृत्ताकारमा बस्छन् । यस पर्वमा पतिपत्नीबारे चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्छ ।
यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतितर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र बृन्दावनलगायतका पात्र हुन्छन् ।
सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्छन् । मूर्तिलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् ।
डालामा राखिएका सबै माटोका मूर्ति त्यतिबेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् । कथा तत्त्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यो पर्वमा सामा चकेवाको गीत मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोकआस्थाको अटुट सम्बन्ध गाँसिएको मानिन्छ ।