close

अन्तरघर प्रतिस्पर्धाका आधारमा ५५ परिवार पुरस्कृत

अन्तरघर प्रतिस्पर्धाका आधारमा ५५ परिवार पुरस्कृत

Trulli
ADVERTISEMENT

चितवन–  चितवनको इच्छाकामना गाउँपालिका–१ का बासिन्दालाई अन्तरघर प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको छ । स्थानीयवासीको घर, स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका विषयमा प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको हो । 

 

‘सबै यात्राको सुरुआत एउटा सपनाबाट हुन्छ’ परिकल्पनाका आधारमा इच्छाकामना गाउँपालिका–१ का ५७० परिवारबीच आन्तरिक प्रतिस्पर्धा गराइएको थियो । पैँतीसदेखि ६५ परिवारलाई एउटा कलस्टर मान्दै वडा नं १ मा ११  क्लस्टर निर्माण गरी ‘सपना भिलेज सोसियल इम्प्याक्ट’ले प्रतिस्पर्धाका आधारमा पुरस्कार वितरण गरेको हो । प्रति कलस्टर पाँच जनाका दरले ११ कलस्टरबाट ५५ परिवारलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।  

 

पहिलो हुनेलाई  १६ हजार, दोस्रोलाई  १२ हजार, तेस्रोलाई  १० हजार, चौथोेलाई ७ हजार र पाँचौंलाई  ५ हजार प्रदान गरिएको थियो । फलफूलखेती र बाख्रापालन गर्ने उत्कृष्ट किसानलाई  १६ हजारका दरले पुरस्कार प्रदान गरिएको छ । स्थानीयवासीलाई हरेक ६ महिनामा आन्तरिक मूल्याङ्कनका आधारमा पुरस्कार प्रदान  गरिँदै आएको गिरीले बताए । 

 

एघारवटै कलस्टरमा सहजकर्ता राखिएको छ । उनीहरुले गाउँमा पुगेर सहजीकरणका साथै मूल्याङ्कन गर्छन् । सपना भिलेजका परियोजना अधिकृत अनिल अर्यालले स्थानीयवासीको आयआर्जनलाई प्राथमिकता दिँदै उनीहरुमा उत्प्रेरणा जगाउने काम गर्नुका साथै उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको बताए  । इच्छाकामना–१ मा ९५ प्रतिशतभन्दा बढी चेपाङ समुदायको बसोबास छ । संस्थाले बोयर जातको ब्याडे बोका, सुन्तला, कागतिलगायत फलफूलका बिरुवासमेत वितरण गर्दै आएको छ ।