close

जुम्लामा बालविवाहको डरलाग्दो तथ्यांक : चपेटामा किशोरी आमा !

जुम्लामा बालविवाहको डरलाग्दो तथ्यांक : चपेटामा किशोरी आमा !

Trulli
ADVERTISEMENT

जुम्ला– मध्य दिउँसोको उखरमाउलो गर्मी । निधारमा चिटचिट पसिना, छेउछाउमा लालाबाला, पढ्ने/लेख्ने उमेरमा तीन बच्चाको पालनपोषण, शिक्षादीक्षा, औषधीमूलो अभिभावकको जिम्मेवारी छ, एक किशोरीको काँधमा । घरखर्च चलाउन समस्या भएपछि मेलापात र ज्याला, मजदुरी गर्न विवश छन् । 

 

तातोपानी गाउँपालिका वडा नम्बर २ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो । साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी विवाह गरेकी हुन् ।

 

अहिले उनी तीन सन्तानकी आमा बनेकी छन् । विवाह गरेको दुई वर्षमै उनले पहिलो सन्तान छोरी जन्माइन् । विवाहपछि घरपरिवारले राम्रो नगर्दा उनी र पति अलग बस्न थाले । 

 

डाँगी भन्छिन्, ‘सानैमा बिहे गरेर पारिवारिक बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु । त्यसैमा तीन÷तीन वटी छोरी हुर्काउनुपर्ने बाध्यता छ ।’

 

तीन सन्तानले मात्र पुगेको छैन, छोरा जन्माउनैपर्ने पारिवारिक दबाब उनीमाथि छ । सोही कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ । ‘हामी महिलाले सधैँ अर्काकै चाहना पूरा गर्नुपर्ने ! मर्न लागे पनि कसैलाई वास्ता छैन । जिन्दगी मेरा लागि बोझ भइसक्यो’, उनले दुखेसो पोखिन् । 

 

बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो । पति पाटनमा भेडा चराउने गर्छन् । कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ । उनलाई बालबच्चा हुर्काउनै समस्या छ । 

 

सानै उमेरमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र घरमा आर्थिक समस्याका कारण पैसाको जोहो गर्नुपर्ने भएकाले उनको पढाइलगायत काम रोकिए ।  अहिले कालिकासँग आठ, पाँच र दुई वर्ष उमेरका छोरी छन् । २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वास्थ्यमा समेत असर पुगेको छ । 

 

यस्तै, बालविवाहको चपेडामा परेको बताउँछिन्, तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगरकी ७० वर्षीया पुञ्चकला खत्री । उनले भनिन्, ‘मेरो पनि ७ वर्षको उमेरमा २००८ तिर विवाह भएको हो । त्यतिबेला विवाह हो या बालविवाह हो कुनै थाहा नभएको उनले सुनाइन् ।

 

‘अहिलेजस्तो त्यतिबेला पढ्ने, लेख्ने जमाना थिएन । पढ्न, लेख्न पाइनँ । बाआमाले पढाएनन् । कखरा पनि पढेकी छैन । १२ वर्षको उमेरदेखि खेती किसानीका काम गरेँ । विवाह गरी पोइली घर आएदेखि मेरो दैनिकी खेतीपातीमै बित्यो’, उनले
भनिन् । ३२ वर्षको उमेरमा श्रीमान्को निधन भएपछि उनले एकल महिलाको जीवन बिताइरहेकी छन् ।

 

जुम्लामा बालविवाह रोकिएको छैन । बिहेबारी २० वर्ष पारि सरकारी नारा नारामै सीमित भएको छ । यहाँ केही समय पहिले गर्भावस्थामै एकअर्काेलाई विवाहका छोराछोरी दिने र लिने चलन थियो । तर, त्यो अवस्था अहिले छैन ।

 

यसपछि सानैमा पुण्य कमाउने नाममा आमाबाबुले छोरीको विवाह गर्ने चलन आयो । अहिले यो अवस्थामा भने कमी आएको छ । सहरबजारभन्दा पनि गाउँभरमा आमाबाबुको सहमतिबिनै मेलापात, विद्यालय गएको समय भागेर बालविवाह गर्ने चलन छ । 

 

जुम्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा जुम्लाका ८ वटै स्थानीय तहका ८६० जना २० वर्षमुनिका बालिका गर्भवती भएका हुन् । आर्थिक वर्ष ०७६/७७ मा जिल्लाभर ८५५ जना २० वर्षमुनिका किशोरी आमा बनेको तथ्यांक छ । 

 

जुम्लामा हालसम्म बालबिवाहको यकिन तथ्यांक नभए पनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीको संख्या अचाक्ली बढेको छ । शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ । 

 

सोही कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता छ । 
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको संख्या कुल ८६० जना रहेकामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी छन् ।

 

पातारासी गाउँपालिकामा १३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए ।

 

गत वर्षमा १८० जनाले निकै कमतौल भएका बच्चा जन्माएका छन् भने २० वर्षमाथिका ३७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको छ । 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्थिक वर्ष ०७४/७५ मा अस्पतालमा सुत्केरी गराउन आएका ६७४ मध्ये १७९ जना किशोरी थिए । आव ०७५/७६ मा सुत्केरीका लागि आएका ६७८ महिलामध्ये १३० जना किशोरी २० वर्षमुनिका थिए । 

 

सुत्केरी गराउन आउनेमा २०/३४ वर्षका ५१८ र ३५ वर्षदेखि माथिका २७ जना रहेको अस्पतालले जनाएको छ । ०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख १८ हजारमध्ये ५५ हजार ४४२ बालबालिका छन् । तीमध्ये जुम्लामा ६९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेको पाइएको छ ।

 

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतको तथ्यांकअनुसार कर्णालीको सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढी रुकुम पश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ ।

 

यसैगरी कर्णाली प्रदेशका १० जिल्लामध्ये मानव विकास सूचकांकका आधारमा चौथो स्थानमा रहेको जुम्लामा बालविवाहकै कारण १९ वर्षमुनिका ३३ प्रतिशत बालिका गर्भवती हुने गरेका छन् ।

 

यसले बालिकाको स्वास्थ्य र शिक्षामा मुख्य असर पार्नुका साथै कतिपय बालिकाको गर्भावस्थामै मृत्यु हुने गरेको छ । यसरी किशोरी उमेरका आमा बन्नेको संख्या सहरभन्दा ग्रामीण क्षेत्रमा बढी छ ।

 

किशोर उमेरमै आमा बन्नुपर्दा अधिकांशको ज्यान जोखिममा पर्ने गरेको छ । आमा र बच्चा दुवैलाई विभिन्न खालका स्वास्थ्यमा समस्या देखिने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

 

बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि हुँदा किशोरी आमामा स्वास्थ्यसँगै मानसिक समस्यासमेत बढ्दो रहेको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले जानकारी दिए ।

 

‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा छ,’ उनले भने, ‘कम उमेरमा आमा बन्दा तिनमा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको छ भने अर्कातिर सोही कारणले घरेलु हिंसामा समेत पर्ने गरेका छन् ।’

 

किशोरी आमाको शारीरिक अपरिपक्वताका साथै मानसिक तथा सामाजिक रूपले पनि अवस्था कमजोर हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी स्त्री रोग विशेषज्ञ डा. सुवि बस्नेतले बताइन्  ।

 

कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको स्वास्थ्यकर्मीको बुझाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेका छन् ।

 

बालविवाहका कारण अन्य पारिवारिक जिम्मेवारी बढ्नेजस्ता कारणले यस्ता किशोरीमा मानसिक समस्यासमेत देखिने गरेको हो । बालविवाह अन्त्यका लागि जनचेतना आवश्यक रहेको स्वास्थ्यकर्मी हिमाली खत्रीको बुझाइ छ ।

 

कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अस्वस्थ बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कारणले वृत्तिविकासको ढोका बन्द हुने उनले बताइन् । बालविवाहले शैक्षिक रूपमा पनि महिला निकै पछि परेको खत्रीको तर्क छ ।

 

जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाहविरुद्धको अभियान सञ्चालन गरेको छ । परिपक्व नभएर गरेको विवाहले पढाइमा मात्र नभएर मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा समेत असर पारिरहेको छ ।

 

सानै उमेरमा विवाह गरेका बालबालिका शिक्षा र जनचेतनाबाट वञ्चित हुने, छिट्टै आमा बन्ने र त्यसको सम्पूर्ण जिम्मेवारी उनीहरूलाई मात्र हुँदा मानसिक समस्या बढ्दै गएको छ । 

 

बालविवाह आफैँमा ठूलो समस्या त हुँदै हो, अझ यसका बहुआयामिक असरबाट समाजमा धेरै समस्या सिर्जना भएका छन् । विभिन्न प्रयास गर्दागर्दै पनि सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने सरकारको उद्देश्य पूरा नहुनुको प्रमुख कारणसमेत बालविवाह बनेको छ ।

 

जिल्लामा विद्यालय पढ्दै गरेका बालबालिकाको विवाह हुने संख्या बढिरहेको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । बालविवाह रोक्न जिल्लाभर विभिन्न अभियान सञ्चालन गरिए पनि बालविवाह न्यूनीकरण नभएको उनको भनाइ छ । 

 

विपन्न समुदायमा आर्थिक अभावका कारण विद्यालय पढाउनुभन्दा छोराछोरीको विवाह गरिदिने गरेको पाइए पनि सम्पन्न परिवारका बालबालिका स्वयंले भागी विवाह गर्ने गरेको भेटिएको उनले जानकारी दिए । 

 

उनका अनुसार बालविवाह गरेका जोडीहरू बीचमै पढाइ छाड्ने, सानै उमेरमा आमा बन्ने, सानै उमेरमा सम्बन्ध विच्छेद गर्नेजस्ता समस्याबाट पिरोलिनुपरेको छ ।

 

सानै उमेरमा विवाह गर्दा उनीहरू गर्भवती भई स्वास्थ्यका दृष्टिले निकै समस्या हुने गरेको, परिपक्व भएपछि एकअर्काप्रति वितृष्णा पैदा हुने र त्यसपछि सम्बन्ध विच्छेदको चरणमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

 

सानै उमेरमा प्रजनन् अंगको पूर्ण विकास नहुने हुँदा यस्तो अवस्थामा विवाह गर्दा शिशु मृत्युदर, मातृ मृत्युदर बढ्ने, पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेजस्ता यौनजन्य रोग लाग्नुका साथै अन्य सामाजिक समस्या भोग्नुपर्ने बाध्यता हुने गरेको उनको भनाइ छ । परम्परागत गलत संस्कार, जनचेतनाको कमी, अशिक्षा र गरिबीका कारण बालविवाह बढिरहेको उनले बताइन् ।

 

गाउँँघरमा बालविवाह धेरै हुने गरे पनि जिल्ला प्रहरी कार्यालय जुम्लामा बालविवाह उजुरी निकै कम आउने गरेका छन् । १३ चैत ०७५ मा तिला गाउँपालिका वडा नम्बर ३ की एक बालिकालाई चन्दननाथ नगरपालिका वडा नम्बर १० का दीपक कामीले भगाएर बालविवाह गरेको उजुरी प्रहरीमा परेको थियो ।

 

बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा ल्याएर राखेको अवस्थामा प्रहरीको पक्राउमा परेका कामीलाई जिल्ला अदालत जुम्लाले ३ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना तोकेको छ ।

 

कुनै पनि व्यक्ति बालविवाहमा संलग्न भएमा विवाह गर्ने र गराउनेमध्येका उमेर पुगेकालाई ६ महिनादेखि ३ वर्षसम्म कैद र २ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान भए पनि बालविवाहको उजुरी प्रहरीमा नआउने गरेको प्रहरी निरीक्षक युवन चौधरीले बताए ।

 

यस्तै, १० वर्षमुनिका नाबालक बालिकालाई बिहे गर्न जबर्जस्ती गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिमाना हुन्छ भने १० देखि १४ वर्षका बालबालिकालाई विवाह गरे/गराए ३ महिनादेखि १ वर्ष कैद र ५ हजार रुपैयाँसम्म जरिमाना हुने प्रावधान छ ।

 

१४ वर्षदेखिमाथि २० वर्षका किशोरीको बिहे जबर्जस्ती गर्नेलाई ६ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन्छ । यसका साथै बालविवाह गर्ने/गराउने, अभिभावक पुरोहित, लमी, जन्ती र विवाह गर्न सघाउनेलाई १ महिनासम्म कैद र १ हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी व्यवस्था छ ।