close

सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कुटाकुटमा उत्रिए 

अध्यक्ष मण्डलको दाँत भाँचियो

सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कुटाकुटमा उत्रिए 

अध्यक्ष मण्डलको दाँत भाँचियो

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलबार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको बताइएको छ ।

 

मंगलबार दिउँसो ३ बजेतिर कार्यपालिका बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रप्रसाद यादवले जानकारी
दिए ।

 

‘म पनि बैठकमा सहभागी थिएँ । सामान्य छलफल भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच मुक्कामुक्की हुन थाल्यो,’ उनले भने, ‘कुटाकुट हुँदा अध्यक्षका दुई वटा दाँत भाँचिए ।’

 

उपाध्यक्ष मण्डलले गहुँ बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग कुर्सी उठाएको स्वीकार गरिन् । ‘अध्यक्षले मलाई अपशब्द प्रयोग गर्न थालेपछि प्रतिवाद गरेकी हुँ । सोही क्रममा मैले कुर्सी पनि उठाएँ,’ उनले भनिन्, ‘मलाई अध्यक्षको दाँत भाँचिएको थाहा भएन ।’

 

आफू अध्यक्षको सिटभन्दा धेरै टाढा बसे पनि त्यहाँबाट आएर ममाथि गालीगलोज गर्दै हातपात गर्नुका साथै मेरो हात समातेर साडी खोल्ने धम्कीसमेत दिएको उपाध्यक्ष मण्डलले दाबी गरिन् । घटना सम्बन्धमा अध्यक्षसँग बुझ्न खोज्दा फोन उठाएनन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएको बताए । ‘घटनापछि उनीहरू आ–आफ्नो घरतिर लागे भन्ने जानकारीमा आएको छ । प्रहरीमै कुनै उजुरी आएको छैन’, काफ्लेले भने ।