close

सामाजिक वहिष्कारको चेपुवामा परेको निर्जीव घर

सामाजिक वहिष्कारको चेपुवामा परेको निर्जीव घर

Trulli
ADVERTISEMENT

महोत्तरी– बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित सुभम बस्ती जाने गल्ली अलि पर पुगेपछि दायाँतर्फ देखिने एउटा भव्य घरले जोकोहीलाई झसंग बनाउँछ ।घर नजिकै गएपछि भित्र खरानी नै खरानी छ । मानौँ यो मुर्दाघर घर हो, जहाँ दाह संस्कारका लागि यही घर प्रयोग गरिन्छ । अगाडिपट्टि २ वटा सटर छन् । सटरभित्र जलेका बोतल र सिसा यत्रतत्र देखिन्छन् । दिउँसै अँध्यारो र भग्नावेश देखिने यो घर किन यति डरलाग्दो छ ! 

 

बस्तीको बीचमा पनि यो घर वरपरको लागि किन भूत बनिरहेको छ ? यो घरबाट आउजाउ गर्ने जोकोहीलाई देखेपछि यस्तै विभिन्न प्रश्न उब्जिन्छन् । घरको दायाँबायाँ ठूला अक्षरले लेखिएको छ, यो अपराधीको घर हो । यो घर किनबेच गर्न पाइँदैन । यो लेखेको देखेपछि डरभन्दा ज्यादा मनमा घृणा पैदा हुन्छ ।

 

बर्दिबास सहरको व्यस्त गल्लीमा एक्लिएको यो भव्य घर अरुण साहको हो, जसले ५ वर्षीया बालिका गुलावसा खातुनको एक वर्षअगाडि बलात्कारपछि हत्या गरेका थिए । अहिले साह जेलमा आजीवन सजाय भोगिरहेका छन् । साहको घर मात्र हैन, उनी हिँड्ने बाटो, उनको परिवारप्रति समाजमा घृणा र आक्रोस चुलिएको छ । एक वर्षअगाडि अर्थात् ०७७ मंसिरमा साहले ५ वर्षीया बालिकालाई यही घरमा हत्या गरेर बोरामा राखी बाहिर फ्याँकेका थिए । सोही बेला बर्दिबासका स्थानीयले यो घरमा आगो लगाइदिए । अभियुक्त साहको घरका सम्पूर्ण सामान ध्वस्त बनाइदिए । त्यसपछि यो घर रित्तो बन्यो, भूतघरजस्तै । झन्डै १० धुर जग्गामा बनेको यो घरको अगाडि र पछाडि अपराधीको घर हो भनेर लेखिएपछि साहसँगै यो घरले पनि सजाय भोगिरहेको छ । किनबेच गर्न पाइँदैन ।

 

यति ठूलो भव्य महल साहको अपराधका कारण बेवारिसे मात्र बनेको छैन, उनको परिवारका सदस्यसमेत अहिले यहाँबाट विस्थापित भइसकेका छन् । घरको प्रत्येक तलामा स्थानीयले आगजानी गरेको खरानीका थुप्राबाहेक केही छैनन् । साहले घरमा किराना पसल राखेका थिए । सोही पसलमा चक्लेट किन्न गएकी बालिका खातुन एक्कासि हराएकी थिइन् । हराएको ३ दिनपछि घरनजिकै मृतावस्थामा भेटिएको केही घन्टामै प्रहरी हिरासतमा आफैंले मारेको स्वीकारेका थिए, अभियुक्त साहले ।

 

किराना पसलको नाममा अहिले घरभित्र जलेका बोतल र फलामका टुक्राबाहेक केही छैनन् । वरपर घडेरी पल्टिङ गरिएको छ भने बीचमा एक्लै ठडिएको घरले अपराधको आक्रोस देखाइरहेको छ । करोडौँ रुपैयाँ खर्चिएर बनाइएको यो घर समाजका लागि अपराधको चिह्न बनेको छ । अपराध गर्ने जोकोही कानुनको भागिदार मात्र हैन, सामाजिक आक्रोशको पनि सिकार हुनुपर्छ भन्ने उदाहरण देखाइरहेको छ, यो घर ।

 

स्थानीयले घरमा आगजानी गर्दा करोडौँको नोक्सानी भयो । साह र उनका परिवारले प्रयोग गर्ने लत्ताकपडा, गरगहना, ओढ्ने, ओछ्याउने, भाँडाकुँडा नष्ट भए । अपराधीलाई समाजले नै सजाय दिन पाउनुपर्ने मागसहित एक वर्षअगाडि बर्दिबास रणभूमिमा परिणत भयो । कयौँ घाइते भए भने स्थानीय सञ्जय न्यौपानेले प्रहरीको गोली लागेर ज्यानै गुमाए ।


बालिकाको निर्मम हत्या मात्र हैन, स्थानीय युवाको मृत्युमा साहप्रतिको घृणा देशैभरि आगो जसरी फैलियो । यसैको निशानामा अहिले साहको जग्गाजमिन र घरसमेत परेको छ ।