close

बाजुराका दुई पालिकाले बाँडे बाढीपहिरो र कोभिड प्रभावितलाई राहत 

बाजुराका दुई पालिकाले बाँडे बाढीपहिरो र कोभिड प्रभावितलाई राहत 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ पालिकाका ८१ परिवारलाई राहात वितरण गरिएको छ । स्वामीकार्तिक खापर वडा नम्बर १ मुक्तिकोट माझगाउँका ६८ परिवार र जगन्नाथ पालिका वडा नम्बर ६ का १३ गरी ८१ परिवारलाई राहत वितरण गरिएको हो ।

 

विभिन्न सञ्चार माध्यममा बाढीपहिरो र कोभिड प्रभावित विचल्लीमा परेको समाचार प्रकाशित भएपछि विपन्नलाई राहत वितरण गरिएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।


पीडितलाई चामल, नुन, तेल, दाल, साबुन, कम्बल सहयोग गरिएको छ । नेपाल राइजिङ संस्थाको आर्थिक सहयोग, बडिमालिका मिडिया हाउसको आयोजना र पालिकाको समन्वयमा राहत वितरण गरिएको गाउँपालिकाले बताएको छ ।  राहत वितरणले प्रभावितलाई सहयोग पुगेको पालिका अध्यक्ष शाहीको भनाइ छ ।जगन्नाथ गाउँपालिका वडा नम्बर ५ का अग्निपीडित कार्तिके लुवारलाई पनि खाद्यान्न, भाँडाकुँडा वितरण गरिएको छ ।

 

स्वामिकार्तिक खापर पालिका वडा नम्बर १ माझगाउँ नेपालको सबैभन्दा गरिब गाउँ हो । कोभिडको महामारी र बाढीपहिरोले माझगाउँ पूरै चिराचिरा परेको छ । राहत पाएपछि हालका लागि सहज भएको स्थानीय सर्पे कामीले बताए । यसअघि मुक्तिकोट गाउँका २ सय बढी परिवारलाई संस्थाले सहयोग गरेको थियो ।
१ कात्तिकको बेमौसमी वर्षाका कारण गाउँ नै चिराचिरा हुँदा माझगाउँका ५१ परिवार उच्च जोखिममा परेका छन् । सोही गाउँमा रहेका १७ परिवार कोभिडका कारण रोजगार गुमाएर समस्यामा परेका थिए । 

 

गाउँ नै पहिरोको जोखिममा परेको खबरपछि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महरासहितले स्थलगत अनुगमन गरेका थिए ।  स्थलगत अध्ययन गर्दा सोचेभन्दा धेरै फरक रहेको र गाउँ नै अन्यत्र विस्थापन गर्नुपर्ने प्रजिअ अधिकारीले बताए । तत्काल अन्यत्र पुनस्र्थापन गर्ने अवस्था पनि नभएकाले समस्या रहेको उनको भनाइ थियो । ‘सम्बन्धित निकायमा लेखिपठाएका छौँ । पुनस्र्थापना गर्न संघ, प्रदेश सरकारले नै पहल गर्नुपर्छ’, प्रजिअ अधिकारीले भने ।


यहाँका स्थानीय घाम लागेको दिनमा मात्र घर बस्ने गरेका छन् । पानी परेका बेला दिनमै गाउँ खाली गरेर नजिकै रहेको मुक्तिकोट प्राविमा गएर बस्ने गरेको स्थानीय बताउँछन् । १ कात्तिकमा गाउँको बीच भागबाट पहिरो गएपछि गाउँ नै चिराचिरा परेको स्थानीय सतल विकले बताए । गाउँमा बालबालिका, महिला, वृद्धवृद्धा समस्यामा परेको उनको भनाइ छ ।