काठमाडौं– राष्ट्रिय अपांग महासंघ नेपालले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । ३०औँ अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा गरिएको अन्तरक्रियामा महासंघले यस्तो माग राखेको हो ।
महासंघले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको सहकार्यमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को कार्यान्वयनमा देखिएका चुनौती र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा महासंघ उपाध्यक्ष रमेश लामाले उक्त ऐनको तत्काल प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । ऐनमा अपांगता भएका व्यक्तिलाई विभिन्न सेवा–सुविधा दिइने भने पनि अहिलेसम्म कार्यान्वयन नगरिएको उनले जानकारी दिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा अपांगता अधिकार प्रवद्र्धन शाखा प्रमुख जमुना मिश्रले ऐन कार्यान्वयनमा सरकारको मात्र नभएर नागरिकको पनि उत्तिकै भूमिका हुुने बताइन् । ऐन कार्यान्वयनमा सबैले पहल गर्नुपर्ने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको १० देखि १५ प्रतिशत मानिस अपांग छन् । तर, नेपालमा भने यसको ठोस तथ्यांक छैन ।
सोही तथ्यांकलाई आधार मान्दा नेपालमा झन्डै ३० लाख मानिसले यस्तो जीवनयापन गरिरहेका छन् । राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १ दशमलव ९४ प्रतिशत मात्र अपांगता भएको देखाएको छ ।