close

संकटापन्न कुसुन्डा भाषा जोगाउन पहल

संकटापन्न कुसुन्डा भाषा जोगाउन पहल

Trulli
ADVERTISEMENT

दाङ–कुसुन्डा भाषालाई जीवन्त राख्न र पछिल्लो पुस्तालाई हुबहु हस्तान्तरण गर्ने प्रयास थालिएको छ । कुसुन्डा भाषाका पूर्ण वक्ता दुई मात्रै रहेकामा एक जना लमहीको कुलमोरका ज्ञानीमाया कुसुन्डाको दुई वर्ष अगाडि मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिँदै गएको थियो ।


कुसुन्डा भाषा संरक्षण र जीवित राख्न अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आएका छन् । उनले कुसुन्डा जातिको शब्दकोश र अध्ययन गर्न पाठ्यपुस्तक लेखेका छन् । आफ्नो मातृभाषा मगर भए पनि लोप हुन थालेको कुसुन्डा भाषाको संरक्षणका लागि उनले काम गरिरहेका हुन् ।


भाषा आयोगद्वारा आयोजित नयाँ कुसुन्डा पुस्तालाई ९० घन्टा (पहिलो सत्र) लोपोन्मुख कुसुन्डा भाषाको सिकाउने काम भइसकेको छ । प्रशिक्षकका रूपमा आलेले सहयोग गरे । कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डाले बोल्न मात्र जान्ने, लेख्न नजान्ने भएकाले भाषा लोप हुनबाट बचाउन उदय आलेले सहजीकरण गरे । 


भाषा आयोग र नेपाल कुसुन्डा विकास समाज केन्द्रीय कार्यालय घोराही दाङद्वारा आयोजित ६० घन्टा (दोस्रो सत्र) नयाँ कुसुन्डा पुस्तालाई लोपोन्मुख कुसुन्डा भाषाको प्रशिक्षकका रूपमा अध्यापन गराइएको थियो । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएका छन् । 


दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा कक्षा चलाइएको थियो । अब भाषा बचाउने र विस्तार गर्ने जिम्मेवारी कमलाको काँधमा आएपछि उनी निरन्तर अगाडि बढेकी छन्  ।


भाषा बोल्न जान्नेको संख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाको भनाइ छ । भाषा, शब्द निर्माण र भाषिक संरचनासम्बन्धी लोपोन्मुख कुसुन्डा जातिका लागि तालिम सञ्चालन गरिएको थियो । 

 

अनुसन्धानकर्ता आलेले दास्रो पुस्तक ‘सोजाक’ तयार गरेका छन् । ‘सोजाक’ कुसुन्डा समुदायमा अभिवादन व्यक्त गर्न प्रयोग गरिने शब्द हो । यो पुस्तकलाई वर्णमालासहित एक्काइस पाठमा विभाजन गरिएको छ । प्रत्येक पाठमा कुसुन्डा भाषा, व्याकरण र संवादलाई केन्द्रित गरिएको छ ।

 

पुस्तक लेखनको मूल ध्येय संकटापन्न अवस्थामा पुगेको कुसुन्डा भाषा र संस्कृतिको संरक्षण, विकास तथा दैनिक जीवनमा कुसुन्डा भाषाको प्रयोग गर्न प्रोत्साहन गर्नु हो । पुस्तकमा कुसुन्डा भाषाको शब्द संकलन, वाक्य निर्माण, संवाद र नेपाली अर्थ समावेश गरिएको छ । त्यसले गर्दा कुसुन्डा भाषा पढ्न, बुझ्न र सिक्न सजिलो हुने पुस्तकका लेखक आलेले जानकारी दिए ।

 

कुसुन्डा भाषामा तयार गरिएको पाठ्य सामग्रीले कुसुन्डा बोलीचाली, कुसुन्डा शब्द भण्डार र कुसुन्डा वाक्य निर्माणमा सहयोग पु¥याउनेछ । कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा हो । कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्त्वपूर्ण भाषा हो । तीन वर्ष अघिसम्म यस भाषाको दुई पूर्णवक्ता थिए । अहिले एक जना मात्र पूर्ण वक्ता छन् । त्यसैले कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र कुसुन्डा भाषाको विकासमा निकै ठूलो चुनौती देखिएको छ ।

 

०६८ को जनगणनामा दाङमा कुसुन्डा भाषा बोल्ने १४ पुरुष र १४ महिला गरी २८ जना रहेको उल्लेख छ । राष्ट्रिय जनगणना ०६८ अनुसार देशमा १२३ पुरुष र १५० महिला गरी २७३ जना कुसुन्डा छन् । कुसुन्डा विकास समाजले गरेको अध्ययनमा भने १७५ जना मात्रै कुसुन्डा छन् । दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । 

 

कुसुन्डा समुदायको वृत्तचित्र निर्माण गरिँदै
 
पुस्तकमा समावेश गरिएको पाठ्य सामग्रीलाई ‘अडियो (सुन्न मिल्ने)’ पनि तयार गरिएको छ । अडियोले कुसुन्डा भाषाको उच्चारणका साथसाथै कुसुन्डाको बोलीचालीको भाषासमेत सुन्न सकिनेछ । नाउ हियर मिडियाले कुसुन्डा समुदाय र नेपालका साझेदारसँग मिलेर भाषा पुनरुत्थान र दस्तावेजीकरण गर्न अमेरिकास्थित निय तेर ओफाउन्डेसनको सहयोगमा काम भएको हो । 


यो संस्थाले विगत १० वर्षदेखि ‘कुसुन्डा’ परियोजनाको काम गर्दै आइरहेका कारण वृत्तचित्र निर्माता गायत्री परमेश्वरन र फिलिक्स गएड्ट्केले नेपाल भ्रमण गर्ने क्रममा कुसुन्डा समुदाय र यसका मातृसत्तात्मकता व्यक्तित्व, ज्ञानीमैया कुसुन्डा–कुसुन्डा भाषाको अन्तिम बाँकी वक्तामध्ये एकसँग परिचय भयो ।


भर्चुअल वास्तविक वृत्तचित्र निर्माणका लागि अवधारणा बनाएर काम अगाडि बढाइएको कुसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले बताए । ज्ञानीमैयाले युवा पुस्ताका लागि कुसुन्डा भाषाको कक्षा अनौपचारिक रुपमा सञ्चालन गर्न थालिन् । नाउ हियर मिडियाले सन् २०१८ मा वृत्तचित्र निर्माणको लागि तयारी गर्न थालेको थियो । सन् २०२० को सुरु उत्पादन यात्रा तय गरिएको थियो । 

 

त्यसपछि टोलीले उनकी १५ वर्षीय नातिनी हिमालाई भेटे, जो ज्ञानीमैयाबाट भाषा सिक्दै आएकी उनी अहिले प्रस्ट कुसुन्डा भाषा बेल्न र लेख्न सक्ने भएकी छन् । कुसुन्डा भाषा पुनरुत्थानको संघर्षमा अझ यथार्थपरक चित्र चित्रण गर्ने अन्तर पुस्ताको कथाको नयाँ सम्भावना देखा पर्न थाल्यो । लीलबहादुर र हिमासँग मिलेर वृत्तचित्र निर्माणको काम सुरुभ यो, जुन भर्चुअल रियालिटी वृत्तचित्र ‘कुसुन्डा’को आधिकारिक सह–सिर्जनाकर्ता हुन् ।


वृत्तचित्रमा आवाज अन्तक्र्रियात्मक छ । यो जोकोहीले हेर्छ, त्यसले कुसुन्डा भाषामा शब्द सिक्न ठूलो स्वरमा उच्चारण गर्नुपर्छ । वृत्तचित्रमा ज्ञानीमैया र उनले आफ्नो मातृभाषालाई पुनरुत्थान गर्न गरेका प्रयासलाई सम्मान गरिएको अनुसन्धानकर्ता आलेले जानकारी दिए ।