close

शिवराजमा बालविवाहको तथ्यांक भयावह

१० वर्षे रणनीति तयार गरिँदै

शिवराजमा बालविवाहको तथ्यांक भयावह

१० वर्षे रणनीति तयार गरिँदै

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिकामा बालविवाहको अवस्था उच्च रहेको पाइएको छ । मातृ शिशु मृत्युदरको मुख्य कारक मानिने बालविवाह बढ्दो रहेको पाइएको हो । शिवराजमा बालविवाहविरुद्ध नागरिक र संघ–संस्थाबाट विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिए पनि प्रभावकारी नदेखिएको हो ।
 

 

तीन वर्षको अवधिमा शिवराज नगरपालिकामा २० वर्षमुनिका १६०७ जनाको बालविवाह भएको नगरपालिकाले तयार पारेको डिजिटल प्रोफाइलमा उल्लेख छ । यसमा बालकको संख्या १११७ छ भने बालिकाको संख्या ४९० रहेको छ । विभिन्न संघ–संस्थाले बालविवाहविरुद्ध विविध अभियान, सचेतनामूलक कार्यक्रम चलाइरहे पनि यसको सकारात्मक परिणाम देखिएको छैन ।

 

नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै २२४ जनाले बालविवाह गरेका छन् । कम बालविवाह हुनेमा वडा नम्बर ७ रहेको छ, जसमा ३४ जनाले बालविवाह गरेका छन् ।

 

सिद्धार्थ सामाजिक संस्थाले आयोजना गरेको बालविवाह अन्त्यका लागि रणनीति योजना मस्यौदामाथि सरोकारवालासँगको अन्तरक्रियामा सहभागीले बालविवाहको अवस्था भयावह रहेकाले यसलाई न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए ।

 

नगरपालिकाले बालविवाह न्यूनीकरण गर्न १० वर्षे रणनीति तयार गरिरहेकाले यसमा सबैको सहयोग आवश्यक रहेको नगर उपप्रमुख शिवकुमारी थारुले सुनाइन् । बालविवाह समाजमा जरा गाडेर बसेकाले यसमा सबै सचेत हुनुपर्ने उनको भनाइ
छ ।

 

नगरपालिकाले मात्र चाहेर नहुने हुँदा बालविवाह रोक्न सरोकारवालाको भूमिका अझ बढी हुनुपर्ने आवश्यकता उनले औँल्याइन् । ‘गाउँ–गाउँमा पुगेर बालविवाहविरुद्ध काम गर्न जरुरी छ । नगरपालिकाले तयार गर्ने रणनीतिअनुसार काम गर्न सके छिट्टै बालविवाहमुक्त नगर बनाउन सफलता मिल्छ’, थारुले भनिन् ।

 

वडामा बालविवाहका घटना बढेसँगै किशोर–किशोरीद्वारा अभियान सञ्चालन गरिएको वडा नम्बर १ का वडाध्यक्ष जगत जिसीले बताए । सोही कारण कतिपय बालविवाह रोकिए पनि भागी विवाहले बालविवाह बढेको उनको भनाइ छ ।

 

सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रबन्ध निर्देशक प्रकाश घिमिरेले रणनीतिको मस्यौदा प्रस्तुत गर्दै सुझाव माग गरे । बालबालिकाको विषयमा केन्द्रले नगरपालिकासँग सहकार्य गरी विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएको उनले जानकारी दिए ।

 

कार्यक्रममा नगरका शाखा प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायत सहभागी थिए । बालविवाहका कारण पारिवारिक समस्या, विद्यालय छाड्नुपर्ने, स्वास्थ्यमा समस्या, लैगिक हिंसासमेतका घटना बढेको कार्यक्रममा सहभागीले बताए ।