close

ऋणको भारले विस्थापित भए कटीगाउँका दलित समुदाय 

ऋणको भारले विस्थापित भए कटीगाउँका दलित समुदाय 

Trulli
ADVERTISEMENT

जाजरकोट– साहूको ऋणले गाउँ नै विस्थापित भएको सुन्दा जोकसैलाई अचम्म लाग्न सक्छ । तर, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी बेहोरिरहेका छन् ।

 

बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका हुन् । जति भारतबाट कमाइ ल्याए पनि साहूको ऋण तिर्नै पुग्दैन । अधिकांश गाउँलेका जग्गासमेत साहूले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताए । साहूको ऋण तिर्न भारत पुगेका धर्मबहादुर वरले भने, ‘ऋण तिर्न परिवारसहित भारत आएको छु । दुई वर्ष भइसक्यो । तर, जति दिए पनि कहिल्यै ऋणले छाड्दैन ।’

 

अर्का पीडित गोब्लो लुहारले पनि दुई वर्ष पहिला घरजग्गा साहूलाई दिएर गाउँ छोडी कोठियाघाट पुगेको फोनमार्फत बताए । ६ जनाको परिवारसहित कटीगाउँ छाडेका गोब्लो बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेका छन् । ऋण तिर्न नसकेपछि स्थानीय वीरमान विकको परिवार पनि एक वर्षदेखि विस्थापित जीवन बिताउन बाध्य छ ।

 

साहूको ऋण तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका यी त प्रतिनिधि पात्र मात्र हुन् । कटीगाउँका १५८ घरधुरीका दलित समुदायमध्ये साहुको ५ देखि ८ लाख रुपैयाँसम्मको ऋण नभएका कोही पनि नभएको वडा सदस्य विकले जानकारी दिए ।

 

हालसम्म कटीगाउँबाट सरकारी जागिर खानेमध्येका दीपक विक मात्र एक जना हुन् । ०५९/६० तिर नेपाली सेनाको जवानमा भर्ती भएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका वडा नम्बर १३ कुदुमा घरजग्गा किनेर बसाइँसराइ गरिसकेका छन् । त्यो गाउँबाट हालसम्म एसएलसी पास गरेर अमृत विकले पश्चिम रुकुम चौरजहारीस्थित शीतल बहुमुखी क्यापसबाट बीएड पास गरेका छन् ।

 

किन डुबे ऋणमा ?

 

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले वर्षमा ६ महिना पुग्दैन । त्यहाँका बासिन्दाले स्थानीय साहूसँग उधारो खाद्यान्न लिएर खाने गरेका छन् । गाउँमा राम्रो उत्पादन नहुने, रोजगारी अभावका कारण त्यहाँका अधिकांश पुरुष कमाइ गर्न भारतलगायत अन्य देशमा जाने गरेका छन् । 

 

‘श्रीमान् कमाइ गर्न भारत जानुहुन्छ, हामी यही बस्छौँ । स्थानीय साहूबाट चामललगायत अन्य खाद्यान्न ल्याएर खाने गरेका छौँ’, स्थानीय पवित्रा वरले भनिन्, ‘हामी पसलबाट ल्याउँदै गर्छौं, साहूको डायरीमा बढ्दै जान्छ । चाडपर्वका लागि श्रीमान् भारतबाट आउनुहुन्छ, पैसा तिर्नुहुन्छ, थौर बाँकी रहन्छ । फेरि अर्काे साल उत्तिकै हुने गरेको छ ।’

 

स्थानीय साहू इन्द्रलाल आचार्य र यदुकुमार आचार्यले खाद्यान्नको ब्याजसमेत जोडेर त्यहाँका मानिसलाई ऋणमा डुबाएको एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए । उनका अनुसार कटीगाउँका अधिकांश नागरिक पढेलेखेका छैनन्, जति भने पनि तिरिदिन्छन् भन्ने साहूको मानसिकताका कारण खाद्यान्नमा कानुनविपरीत ब्याजसमेत जोड्ने गरेका छन् ।

 

दर्जन परिवार विस्थापित

 

साहूबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका वडा नम्बर ११ कटीगाउँका दर्जन दलित समुदाय विस्थापित भएका छन् । यहाँका १५८ घरधुरी भएको कटीगाउँका दलित समुदायले दैनिक जनजीविका चलाउन लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।


आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले ३ महिना खाना नपुग्ने कटीगाउँका दलित समुदाय साहूबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन् । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीय विस्थापित हुनुपरेको स्थानीयवासी नरबहादुर विकले बताए ।

 

स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन् । साहूको ऋण तिर्ने अवस्था भए मात्र गाउँ आउने उनको भनाइ छ । यो समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको उनीहरू बताउँछन् ।

 

आधा दर्जन स्थानीयको जग्गा साहूले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन् । कटीगाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीय साहूको ऋण तिर्न नसकेर साहूलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन् ।

 

२५ घरधुरी अतिविपन्न

 

कटीगाउँका १५८ मध्ये २५ घरधुरी अतिविपन्न रहेको एक तथ्यांकले देखाएको छ । भेरी नगरपालिकाको समन्वय, रिसर्च इनपावरमेन्ट (काठमाडौं) र नेप्सकोन सुर्खेतको सहजीकरणमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

 

सर्वेक्षणअनुसार ३१ घरधुरी विपन्न, ३५ घरधुरी १ वर्ष काम गरी ५/६ महिना खान पुग्ने, ५१ घरधुरी ३ महिनासम्म खाना पुग्ने सर्वेक्षणले देखाएको नेप्सकोन सुर्खेतद्वारा सञ्चालित दलित महिला तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चितताका लागि स्थानीय शासन सुदृढीकरण कार्यक्रममा कार्यरत अमृत विकले जानकारी दिए ।

 

स्थानीय सरकारको पुग्दैन नजर

 

देश संघीयतामा गएसँगै गाउँ–गाउँमा सिंहदरबार आए । काठमाडौंको सिंहदरबार गाउँमा आएको नारा लागे तर कटीगाउँबासीका लागि भने यो नाराले सार्थकता पाएको छैन । 

 

सिंगो गाउँ नै ऋणमा डुबेको छ । स्थानीय सरकारका कुनै कार्यक्रम कटीगाउँबासीका लागि केन्द्रित छैनन् । भेरी नगरपालिकाले कटीगाउँबासीका लागि कुनै कार्यक्रम नल्याएको स्थानीय नरबहादुर विकले गुनासो गरे ।

 

उनले भने, ‘नगरपालिकाले हाम्रो गाउँलक्षित कुनै कार्यक्रम ल्याएको छैन । गाउँका बासिन्दा सबै ऋणमा डुबेको पटक–पटक जानकारी गरायौँ । खासै चासोका रूपमा लिएको देखिँदैन । हाम्रो गाउँमा क्षमताअनुसारको रोजगारी व्यवस्था गरेको भए सहज हुने थियो ।’ गत आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले कटीगाउँबासीका लागि १३ लाख रुपैयाँ रकम विनियोजन गरी सुधारिएको चुलो वितरण गरेको थियो । ‘कटीगाउँका २/४ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिदिएको भए भोलिका पुस्ताले राम्रोसँग जिउन सक्ने थिए’, स्थानीय रामबहादुर विकले भने ।

 

नगरपालिकाले थालेको छुवाछूतमुक्त नगर घोषणा कार्यक्रममा ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । पुस तेस्रो सातादेखि उक्त अभियान सञ्चालन गरिने नगरपालिकामा कार्यरत अधिकृत अनिश शाहले बताए । उनले भने, ‘कटीगाउँबासीका लागि चुलो वितरण, जातीय छुवाछूत मुक्त नगरपालिका घोषणाका कार्यक्रम गरेको छ ।’

 

नगरप्रमुख चन्दप्रकाश घर्तीले नगरपालिकाका १३ वटै वडाका दलित समुदायका लागि समग्र सूचकमा आधारित काम गर्ने योजना रहेको जानकारी दिए । जसमा कटीगाउँ पनि समावेश रही त्यहाँको जीवनस्तर उकास्ने उनको भनाइ छ ।

 

जातीय छुवाछूतमुक्त नगर घोषणा कहिलेदेखि सञ्चालन हुने भन्ने विषयमा छलफलसमेत भएको छैन । स्थानीय सरकारले दलित समुदायका लागि प्रभावकारी काम गरेको पाइँदैन । 

 

नगरपालिकाको जनसंख्याको आधा हिस्सा ओगटेको दलित समुदायका लागि कुनै कार्यक्रम नहुनुले नगरको सेवा प्रवाहमा समेत प्रश्न उठ्ने गरेको छ । यहाँ पीडित दलित समुदायका स्थानीयले सबै तहका सरकारलाई ज्ञापनपत्रसमेत बुझाए पनि सुनुवाइ भएको छैन ।