close

मतदाता नामावलीमा नाम लेखाउँदाको सास्ती : सात घन्टा लाइन बस्दा दुई महिने शिशुको अकालमा गयो ज्यान

मतदाता नामावलीमा नाम लेखाउँदाको सास्ती : सात घन्टा लाइन बस्दा दुई महिने शिशुको अकालमा गयो ज्यान

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीका वैधनाथ साह र उनकी श्रीमती रिंकु साहले मतदाता नामावलीका लागि नाम लेखाउने क्रममा २ महिने नवजात शिशुको ज्यान गएको छ । साह दम्पती अन्य १० महिलासँगै २ महिने छोरालाई लिएर विश्रामपुरस्थित नगरपालिका कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउन गएका थिए ।


नवजात शिशुलाई काखमा राखेर करिब ७ घन्टासम्म लाइन बस्दा पनि कर्मचारीले समयमै नाम नलेखाउँदा घर फर्कने क्रममा चिसोको कारण शिशुको ज्यान गएको साह दम्पतीको गुनासो छ । वडा–वडामै गर्न सकिने काम नगरप्रमुख र कर्मचारीको लापरबाहीका कारण नागरिक नगरपालिका जान बाध्य छन् ।


नगरपालिकामा जाँदासमेत कर्मचारीले काम गर्न नसक्दा रित्तो हात घर फर्केर आउनुपरेको उनीहरू बताउँछन् । मतदाता नामावलीमा नाम लेखाउनको संख्या बढी भए पनि कर्मचारीले दिनमा ६० देखि ७० जनाको मात्र काम गरिरहेको स्थानीय एक महिलाले बताइन् ।


शिशुको ज्यान जानुमा स्थानीय जनप्रतिनिधि र कर्मचारी नै मुख्य दोषी रहेकाले महिला, अपांगता भएका र अशक्तलाई विशेष प्राथमिकता दिएर र काउन्टर थपेर काम गर्नुपर्ने उनीहरूको माग छ । शिशुको अकालमा ज्यान गएपछि नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।