close

पृथ्वी जयन्ती मनाउन गठन भयो समिति

पृथ्वी जयन्ती मनाउन गठन भयो समिति

Trulli
ADVERTISEMENT

काठमाडौं– ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन गरिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा समिति गठन भएको हो ।


समितिमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीन वटै प्रज्ञा प्रतिष्ठानका उपकुलपति क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका सचिव क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवं सांस्कृतिक संस्थानका अध्यक्ष एवं महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा.जगतप्रसाद उपाध्याय सदस्य सचिव रहेको मूल व्यवस्थापन समितिसमेत गठन भएको छ ।


प्रतिष्ठानका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा ‘पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार–गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवं सांस्कृतिक कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ ।


बैठकले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी तुल्याउन नेपाल प्रज्ञा उक्त बैठकद्वारा आउँदो २५ पुसमा पुस्तक प्रदर्शनी र चित्रकला प्रदर्शनी, २६ पुसमा विचार गोष्ठी तथा २७ पुस बिहान विभिन्न जातीय सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

 

सोही दिन अपराह्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने साथै पुस्तक प्रदर्शनी, विचार गोष्ठी र शोभायात्राको व्यवस्थापन नेपाल प्रज्ञा प्रतिष्ठानले गर्नेछ । चित्रकला प्रदर्शनीको व्यवस्थापन ललितकला प्रज्ञा प्रतिष्ठानले गर्ने एवं सांस्कृतिक कार्यक्रमको व्यवस्थापन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले गर्ने निर्णय गरेको छ ।