close

यो वर्ष शाली नदी मेला नहुने 

दुवै मात्राको खोप लगाएकालाई मात्र प्रवेश दिइने

यो वर्ष शाली नदी मेला नहुने 

दुवै मात्राको खोप लगाएकालाई मात्र प्रवेश दिइने

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना संक्रमण फैलिएपछि काठमाडौं जिल्ला प्रशासनले १ महिनासम्म चल्ने शाँखुस्थित शाली नदी मेला यो वर्ष नहुने भएको छ । माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापूर्वदेखि सञ्चालन हुँदै आइरहेको माधवनारायण व्रत नित्यपूजा एवं धार्मिक विधि पु¥याएर मात्रै गरिने जानकारी दिए ।

 

स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनले शाली नदी नुहाउन सक्ने र प्रसाद ग्रहण गर्न पाउने उनले बताए । भक्तजनको सुविधालाई दृष्टिगत गर्दै शाली नदी यातायात र बाबा गोकर्णेश्वर यातायातले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिनुपर्नेछ ।


आगामी आइतबारदेखि व्रत बस्न आउने व्रतालुले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । सम्पूर्ण व्रतालुसँग पूर्ण खोप लगाएको कार्डको कपी हुनुपर्नेछ र निमोनिया भए÷नभएको यकिन गर्न एक्सरेसमेत गरिने समितिले बताएको छ । आवश्यक भए एन्टिजेन परीक्षण व्यवस्थासमेत समिति आफैंले गर्नेछ ।


व्रतालुका लागि समितिले व्रत सुरु हुनुअगावै बसोबास व्यवस्थादेखि परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) यात्राका क्रममा सबै व्यवस्था मिलाउनेछ । कोभिड–१९ को ओमिक्रोन भाइरसको प्रकोप बढ्दै गइरहेको अवस्थालाई दृष्टिगत गरेर भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवान्को दूरदर्शनको व्यवस्था गरिने समितिले जनाएको छ ।


भक्तजन र व्रतालुबीच कम्तीमा २ मिटरको दूरी कायम हुने गरी बार बन्देज गरिनेछ । शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शाली नदी परिसरभित्र विभिन्न ठाउँमा सिसीक्यामेरा व्यवस्था मिलाउने, सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय भएको छ ।