close

तराई–मधेसका जिल्लामा वैकल्पिक इन्धन बन्दै गुइँठा 

तराई–मधेसका जिल्लामा वैकल्पिक इन्धन बन्दै गुइँठा 

Trulli
ADVERTISEMENT

सप्तरी–तराई–मधेसतिर गाईभैंसीलगायतको गोबरबाट बनाइने गुइँठा वैकल्पिक इन्धन बन्दै गएको छ । तराईका जिल्लामा गोबरमा हस्तकला झल्किने गुइँठा बनाउने परम्परा पुरानो हो । गाईवस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे पनि गोबरमा समेत आफ्नो मौलिकताको कला–संस्कृति देखिने गरेको छ । गाईवस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको औँलाले कला कोर्ने गरिन्छ । गुइँठा बनाइने क्रममा बनाइने कलाकृतिले तराई क्षेत्रको पहिचानसहितको विभिन्न कला, कौशल एवं संस्कृतिसँग मेल खाने गरेको छ ।

 

गुइँठाको संरचनासँग मेल खाने हुँदा रंगीचंगी बनाएर नाटक, नाच तथा मनोरञ्जनात्मक मूर्ति बनाउने गरिन्छ । काँचो गोबरको गुइँठा बनाउने क्रममा महिलाले हस्तकला, मूर्ति गुइँठामा बनाएर धाममा सुकाउने गर्छन् ।

 

कला पारखीले सुकेको गुइँठामा मूर्ति बनाउँछन् । मधेसका जिल्लामा घरमा बच्चा जन्मिएपछि प्रसूति र बच्चालाई न्यानो पार्न तथा टुनामुना नलाग्न पनि गुइँठाको आगो बाल्ने प्रचलन रहेको स्थानीय सुकदेव यादव बताउँछन् । त्यस्तै, घरको देउतालाई धुप बाल्न पनि गुइँठाको आगो अनिवार्य चाहिने गरेको र त्यसकै खरानी निधारमा लगाउने गर्दा रोग नलाग्ने विश्वास रहेको उनको भनाइ छ ।

 

प्रायः महिलालले गाईको गोबरबाट बनाउने गुइँठा दाउराको रूपमा प्रयोग हुने गरेको छ । दाउराबाहेक अन्य प्रयोजनमा पनि गुइँठा प्रयोग हुने गरेको छ । मधेसका जिल्लामा गोबरको गोरहा पनि बनाउने गरिएको छ । गोबरबाट जुट (सन्ठी) हालेर सबभन्दा लामो, पराल वा सन्ठी बीचमा राखेर डेढ दुई फिट लामो, धानको भुस मिसाए गोलाकार, चेप्टो गुइँठा पनि बनाउने गरिएको छ ।

 

स्थानीय बोलचालीको भाषामा लामो आकारलाई गोरहा, सानोलाई गुइँठा, गोलो आकारलाई चेपरी भन्ने गरिन्छ ।  ग्रामीण भेगमा काठदाउरा र ग्यासको सट्टामा परम्परागत रूपमै खाना पकाउन, आगो बाल्न वर्षैभरि पुग्ने गरी गुइँठा बनाएर राख्निे गरिन्छ । 

 

ग्रामीण भेगका महिलाले गाईवस्तुको गोबरलाई मुछेर तयार पारिने गोरहा बाल्न सुरुमा झन्झटिलो भए पनि वैकल्पिक ऊर्जाको रूपमा गोरहा र गुइँठा प्रयोग गर्न थालिएको स्थानीय बताउँछन् ।

 

स्थानीयले गोरहा र गुइँठालाई वैकल्पिक इन्धनको रूपमा प्रयोग गरिरहेका छन् । मधेसका जिल्लामा औसतमा ६५–७५ प्रतिशत घरधुरीले गोबरको गोरहा, गुइँठा, गोरहन्नीबाट खाना पकाउने गरेका छन् ।