close

एक महिने स्वस्थानी व्रतकथा प्रारम्भ

एक महिने स्वस्थानी व्रतकथा प्रारम्भ

Trulli
ADVERTISEMENT

काठमाडौं– वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । 

 

सोमबारदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथावाचनसहित देवीदेवताको पूजाआराधना सुरु गरेका छन् । 

 

वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दु धर्मावलम्बीले कमै मात्र यो विधिबाट पूजाआराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराका रूपमा रहेको छ । 

 

नेपालमा पनि धेरैजसो महिलाले यो व्रत गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरू देशमा नभेटिएको बताउँछिन् । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रूपमा कार्यरत छन् । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुन् ।

 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथा वाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।


एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

 

चढाइएका प्रसादमध्ये सबैबाट पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बगाउने व्रत विधि छ ।

 

सय रोटी वर्तालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामको समय देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरे वर्तालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । 


आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ ।  यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

 

सुवर्ण वर्णकी, त्रिनेत्र धारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा. रामचन्द्र देवमणि भट्टराईले जानकारी दिए । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नील कमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ’, उनले भने ।

 

यस्ती देवीको विधिपूर्वक व्रत गरे विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छ्याएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । 


सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।


गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार व्रत गर्दा पुत्रवियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए । 

 

शाली नदीमा मेला 


सोमबारदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमि दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघ स्नानसहित माधवनारायणको मेला सुरु भएको छ ।  ‘माघमा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्’, इतिहासकार श्रेष्ठले भने । 

 

यो वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शाली नदीमा कोरोना महामारीका कारण १२५ मात्र व्रतालु राखिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ । १०६ महिला र १९ पुरुषले माधवनारायण एवं श्रीस्वस्थानी व्रत लिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । 

 

गत वर्ष पनि कोरोना महामारीको जोखिमका कारण ४९ मात्र व्रतालु राखिएको थियो । व्रतालुका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर सुरक्षितसाथ राखिएको छ । शाली नदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि भक्तजन आए पनि धेरै भीड भने नभएको उनले बताए ।