close

कर्णाली राजमार्गमा उक्लियो सवारी दुर्घटनाको ग्राफ

कर्णाली राजमार्गमा उक्लियो सवारी दुर्घटनाको ग्राफ

Trulli
ADVERTISEMENT

जुम्ला–विकासको मेरुदण्ड सडकलाई मानिने गरेको छ । कर्णाली राजमार्गको ट्रयाक ०६२ मा खुलेको हो । यो राजमार्ग सुर्खेत, दैलेख, कालीकोट हुदै जुम्ला पुगेको छ । 

 

सडक विकासले अन्य विकासका सम्भावना बढे पनि सवारी दुर्घटनाले मानवीय क्षति भने निकै बढेको छ । सडकको स्तरवृद्धि नहुनु, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, थोत्रा सवारी साधन, चेकजाँचमा कमी र यात्रुको असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा सवारी दुर्घटना बढेको हो । 

 

सडक दुर्घटनाका कारण जुम्लालगायत कर्णाली राजमार्गमा बर्सेनि औसतमा २ हजार बढीको ज्यान जाने गरेको छ । तर, मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन् ।

 

उनका अनुसार सडक दुर्घटना कम गर्न निरन्तर अभियान चलाइरहेको दाबी गरिन्छ । तर, ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने जुम्लामा सडक दुर्घटनाबाट हरेक महिनामा औसतमा ७ जनाको ज्यान जाने गर्छ । यसले पनि सहजै अनुमान गर्न सकिन्छ, हरेक वर्ष सडक दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दो छ ।

 

दुर्घटनाको कारणप्रति कसैले पनि खासै चासो नराखेको उनको तर्क छ । ‘सडक दुर्घटनाको अनुसन्धान पनि हुँदैन । कोही ठूलाबडा परिहाले भने अनुसन्धान हुने हो । त्यो पनि विज्ञहरू राखेर हुँदैन । त्यसले के प्रस्ट हुन्छ भने जुम्लामा मात्रै नभई देशमै सडक सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको देखिँदैन,’ उनले भने ।

 

उनको बुझाइमा सडक दुर्घटनाका लागि यान्त्रिक गडबडीभन्दा मानवीय कमजोरी बढी जिम्मेवार देखिने गरेका छन् । उनी भन्छन्, ‘सडकमा ट्रोल लगाएरै भए पनि राम्रो सडक बनाए कम क्षति हुन सक्छ ।’

 

सडक सुरक्षासम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण कर्णालीले ठूलो जनसंख्या गुमाइरहेको छ । जुम्ला सडक खण्डमा आर्थिक वर्ष ०७१÷७२ मा ६ वटा सवारी दुघर्टनामा २४ जनाको मुत्यु भएको छ भने ३४ जना गम्भीर घाइते भए ।

 

त्यस्तै, ०७२/७३ सवारी दुर्घटनाबाट ६ जनाको मुत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालयको तथ्यांक छ । ०७३-७४ मा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । ०७४/७५ मा १३ जनाको मृत्यु भयो भने ०७५/७६ मा २५ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ९ जना घाइते भए ।

 

०७६/७७ मा १५ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो भने ७ जना घाइते भए । ०७७/७८ भएको ३२ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु र ४० जना घाइते भए । चालू आर्थिक वर्षको हालसम्म सवारी दुघर्टनाबाट ९ जनाको मृत्यु भएको छ भने सोही संख्यामा घाइते भएका छन् ।

 

०७१ देखि हालसम्म सवारी दुर्घटनाबाट ७८ जनाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाले बताएको छ । १२५ जना घाइते भएका छन् । ट्राफिक कार्यालय कर्णाली प्रदेशका अनुसार ०६६-६७ देखि चालू आर्थिक वर्षको हालसम्म ४३२ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाबाट १५५ पुरुष, ३१ जना महिला, १० जना बालक र एक बालिका गरी १९७ जनाको मृत्यु भएको ट्राफिक कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए ।

 

यो तथ्यांक कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्लाको मात्र भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमलकुमार रावतले जानकारी दिए । उनका अनुसार सबैभन्दा दुर्घटना जुम्लाको कच्ची सडकमा हुने गरेको छ । कच्ची सडक त्यसैमा साँघुरो एवं तीव्र गतिमा सवारी गुडाउनु र सडकमा खाल्डो छल्न खोज्दा दुर्घटना हुने गरेको छ ।

 

सडक सुरक्षाका लागि चालक सबै हिसाबले योग्य र जिम्मेवार हुनुपर्छ भन्ने मान्यतासहित यातायात व्यवस्था विभागले ०६९ मा ‘व्यावसायिक सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमावली’ को मस्यौदा बनाएको थियो । तर, ०७१ मा मन्त्रिपरिषद्बबाट पारित भएर लागू गर्ने तयारी क्रममै नियमावली थन्क्याइयो ।

 

यो त एउटा उदाहरण मात्र हो, सडक सुरक्षाका लागि नगरी नहुने समयानुकूल नीतिगत व्यवस्थासहित सुरक्षा प्रणाली बनाउने काम नै नहुँदा दिनानुदिन दुर्घटना बढिरहेका छन् । यसले नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ ।