close

भरतपुर महानगरले बाँड्यो बालबालिकालाई न्याना कपडा

भरतपुर महानगरले बाँड्यो बालबालिकालाई न्याना कपडा

Trulli
ADVERTISEMENT

चितवन– चितवनको भरतपुर महानगरले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्याना कपडा वितरण गरेको हो ।

 

बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो । 

 

महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट वञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताइन् । 

 

राप्ती र नारायणी नदी किनारमा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनको भनाइ छ । 

 

संघीय सरकारको दिवाखाजा कार्यक्रम र महानगरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालले सुनाइन् । ५ वर्षमा सामुदायिक विद्यालयमा १० हजार नयाँ विद्यार्थी संख्या थप्ने महानगरको लक्ष्य छ ।

 

हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएका छन् । शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन, नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको दाहालले जानकारी दिइन् । 

 

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी न्याना कपडा वितरण गरिएको जानकारी बताए । महानगरका १० आधारभूत विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत १ हजार २२० विद्यार्थीलाई न्याना कपडा वितरण गरेको हो । 

 

कोरोना जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्त रूपमा न्याना कपडा हस्तान्तरण गरिएको छ । विद्यालयले महानगरमा पेस गरेको तथ्यांक र नामका आधारमा विद्यार्थीलाई न्याना कपडा वितरण गरिनेछ ।