close

किशोर उमेरमै सन्तान जन्माउँदा अकालमा ज्यान गुमाउँछन् कर्णालीका आमा

किशोर उमेरमै सन्तान जन्माउँदा अकालमा ज्यान गुमाउँछन् कर्णालीका आमा

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णालीमा सानै उमेरमा विवाह गर्ने चलन अहिले पनि हटेको छैन । सरकारको बिहेबारी २० वर्षपारि नारा नारामै सीमित हुँदै आएको छ । सानै उमेरमा विवाह गर्ने र प्रजनन क्षमता वृद्धि नहुँदै बच्चा जन्माउँदा कर्णालीका महिलाले अकालमा ज्यान गुमाउनु परिरहेको हो । 

 

अदानजुली गाउँपालिका वडा नम्बर ५ हुम्लाकी ३३ वर्षीया गौगोरा छत्यालले ३ माघमा दसौँ सन्तानको रूपमा छोरी
जन्माइन् । छोरी जन्माएकै दिन उनले प्राणत्याग गरिन् । छोरा जन्माउने आशमा १० पटक गर्भधारण गरिन् । ३३ वर्षको उमेरमा दसौँ सन्तान जन्माएकी उनले कति वर्षमा बिहे गरी होलिन् ! 

 

एउटा बच्चा जन्माएपछि अर्काे बच्चा जन्माउँदै कम्तीमा पनि ३ वर्ष जन्मान्तर हुनुपर्ने हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने कम उमेरमा विवाह हुनु, प्रजनन क्षमता वृद्धि नहँुदै बच्चा जन्माउनु र जन्मान्तर भएको देखिन्न । 

 

छत्याल जन्मिएको नयाँ बच्चा छोरी भएको थाहा पाउनेबित्तिकै बेहोस भइन् । पछि उनको मृत्यु भइसकेको थियो । ९ छोरीलाई जन्म दिइसकेकी उनी बिरामी नभए पनि छोरा नजन्माएको भनेर मानसिक तनाव खेप्दै आएकी थिइन् ।

 

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार उनको निधन हृदयघातको कारण भएको हुन सक्छ । छोरा जन्मने आस भएकै बेला छोरी जन्मिएपछि मनमा तनाव उत्पन्न हुँदा त्यो नै मृत्युको कारण हुन सक्ने बोहराको अनुमान छ ।

 

८६० किशोरी गर्भवती 

 

जुम्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा जुम्लाका ८ वटै स्थानीय तहका ८ सय ६० जना २० वर्षमुनिका किशोरी गर्भवती भएका हुन् । अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा ८५५ जना २० वर्षमुनिका किशोरी गर्भवती भएका थिए । 

 

शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ । सोही कारण सानै उमेरमा बच्चा जन्माउने, आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको संख्या कुल ८६० जना रहेकामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी छन् ।

 

पातारासी गाउँपालिकामा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

 

गत वर्षमा १८० जनाले कमतौल भएका बच्चा जन्माएका छन् भने २० वर्षमाथिका ३७६ र २० वर्षमुनिका ३० किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको प्रमुख सापकोटाले जानकारी दिए । 

 

गत आर्थिक वर्षमा ८१ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । १ हजार ७ सय ५२ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । यीमध्ये ९९ प्रतिशत बालबालिकाले बिसिजी खोप लगाइसकेको स्वास्थ्य प्रमुख सापकोटाको भनाइ छ ।