close

छथर जोरपाटीका ९४ घरपरिवारले पाए जस्तापाता

छथर जोरपाटीका ९४ घरपरिवारले पाए जस्तापाता

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको विकास बजेट कटौती गर्ने सरकारको कानुनविपरित रहेको संघीय सांसद राजेन्द्रकुमार राईले बताएका छन् । राईले छथर जोरपाटी गाउँपालिकाका विपन्न नागरिकलाई जस्तापाता वितरण गर्दैै सरकारले धनकुटेलीलाई गरेको अन्यायप्रति सबैले आवाज उठाउनुपर्ने बताए ।


‘केपी ओली नेतृत्वको सरकारले धनकुटाको विकासका लागि विनियोजन गरेको १० अर्बमध्ये ७ अर्ब रुपैयाँ कटौती गरेको छ,’ राईले भने, ‘रातो किताबमा परिसकेका उक्त योजना कटौती गरेर वर्तमान सरकारले अन्याय गरेको छ ।’


पालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सांसद राईले वडा नम्बर १, २, ३ र ६ का ९४ घरपरिवारलाई रंगीन जस्तापाता वितरण गरेका हुन् । ‘गुणस्तरीय जीवनस्तरका लागि आवास सुधार कार्यक्रम’अन्तर्गत संघीय हस्तान्तरित विशेष अनुदानबाट उक्त जस्तापाता वितरण गरिएको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।


अनुदानमा प्राप्त ८३ लाखमध्ये टेन्डर प्रक्रियाबाट खरिद गरिएको ५७ लाख ३५ हजार ६ सय ५४ रुपैयाँ बराबरको ४१० बन्डल जस्तापाता वितरण गरिएको लिम्बूले बताए ।


बाँकी वडा नम्बर ४ र ५ मा जनता आवासअन्तर्गत १९० घरका लागि गत वर्षदेखि सुरु भएको जस्तापाता वितरण यो वर्ष पूरा हुने जानकारी उनले दिए ।


गत वर्ष दुवै वडाका ४०÷४० घरलाई जस्तापाता उपलब्ध गराइएको थियो । बाँकी ११० घरलाई जस्तापाता किन्न पहिलो किस्ता रकम सम्बन्धित व्यक्तिको खातामा पठाइसकिएको अध्यक्ष लिम्बूले बताए ।


कार्यक्रममार्फत वडा नम्बर १ र ३ का ३०/३० घर, वडा नम्बर २ का २३ र वडा नम्बर ६ का ११ घरपरिवारलाई जस्तापाता वितरण गरिएको प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी नेत्रबहादुर क्षेष्ठले जानकारी दिए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिव आङ्ला (लिम्बू) ले जस्तापाता पाउने सबैलाई सुरक्षित आवासका लागि बधाइ दिए । पालिका उपाध्यक्ष भीमलाल श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत चुडा बोहरा, पालिका सदस्य दाकिमु शेर्पा, गंगामाया लिम्बूलगायत उपस्थित थिए ।


उक्त अवसरमा वडा नम्बर १ का वडाध्यक्ष पुखमान आले, २ का कृष्णकुमार मगर, ४ का टेकबहादुर तामाङ र वडा नम्बर ६ का दिलबहादुर थापाको उपस्थिति थियो ।