close

डुडुवा पालिकाको ज्येष्ठ नागरिक सम्मान 

डुडुवा पालिकाको ज्येष्ठ नागरिक सम्मान 

Trulli
ADVERTISEMENT

बाँके–बाँकेको डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत शुक्रबारसम्म २ हजार २ सय ७० जनालाई न्यानो सामग्री वितरण गरेको छ । चिसो मौसमलाई लक्षित गरी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडासँगै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो ।

 

गाउँपालिकाको वडा नम्बर १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल, च्यावनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । शुक्रबार ६७ जना गरी कुल २ हजार २ सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

 

गाउँपालिकाले गाउँ समुदायबाटै ज्येष्ठ नागरिकलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जमा रहेका ज्योति विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत २ कर्मचारी खटाएर आर्थिक वर्ष ०७८/७९ को पहिलोे त्रैमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । 

 

उनका अनुसार बैंकबाट भत्ता बुझेर ज्येष्ठ नागरिकलाई एक–एक वटा कम्बल र च्यावनप्रास वितरण गरी घरैसम्म पु¥याउने गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष कटेका ज्येष्ठ नागरिक, ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरी २ हजार ७ सय २८ जनालाई कम्बल र च्यावनप्रास वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लीलावती यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले सामग्री हस्तान्तरण
गरे ।