close

फोहोर व्यवस्थापनमा जुटे चितवनका चार नगरपालिका 

फोहोर व्यवस्थापनमा जुटे चितवनका चार नगरपालिका 

Trulli
ADVERTISEMENT

चितवन–चितवनका चार वटा नगरपालिका संयुक्त रूपमा फोहोर व्यवस्थापनमा जुटेका छन् । चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाबीच संयुक्त रूपमा फोहोर व्यवस्थापन गर्ने समझदारी भएको हो ।

 

नगरपालिकाले जर्मनी र कोरियाली दूतावासमार्फत जर्मनीको भिस्तारा इन्टरनेसनलसँगको सहकार्यमा सबैलाई पायक पर्ने ठाउँमा फोहोर व्यवस्थापन प्रक्रिया थालेका हुन् । त्यसका लागि सो संस्थाले प्रारम्भिक समझदारी पत्र पठाएपछि स्थानीय तहका प्रमुखले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेर पठाएका छन् ।

 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको समन्वयमा खैरहनी नगरपालिकामा चार वटा स्थानीय तहका जनप्रतिनिधिको बैठक बसेर प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी पठाइएको छ । प्रारम्भिक समझदारीपत्रमा रत्ननगरका नगरप्रमुख नारायण वन, खैरहनीका लालमणि चौधरी, राप्तीकी प्रभा बराल र कालिकाका खुमनारायण श्रेष्ठले हस्ताक्षर गरे ।

 

यसअघि सौराहामा पनि चार पालिका र सो संस्थाका प्रतिनिधिबीच छलफल भएको थियो । हस्ताक्षरको प्रतिउत्तर आएपछि काठमाडौंमा जर्मनी दूतसहितको बैठक बसेपछि प्रक्रिया अगाडि बढाइने जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले बताए ।

 

भिस्तारा इन्टरनेसनलले आधुनिक प्रविधिको मेसिन प्रयोग गरेर फोहोर व्यवस्थापन गरिने जनाएको छ । संकलित फोहोर मेसिनमा हालेपछि आफैं वर्गीकरण हुने हुँदा व्यवस्थापनमा सहज हुने डल्लाकोटीले बताए । त्यस्तो प्रविधि जडिन मेसिनसहित उद्योगका लागि झन्डै ७५ करोड रुपैयाँ लाग्नेछ ।

 

३३ प्रतिशत रकम चार वटा नगरपालिकाको हुनेछ भने बाँकी लगानी दूतावासमार्फत कम्पनीले गर्नेछ । जग्गा पालिकाले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । खैरहनी र रत्ननगरमध्ये एक नगरपालिकामा प्लान्ट राखिनेछ । कम्पनीले भारतको नयाँ दिल्लीमा गरिरहेको फोहोर व्यवस्थापन हेर्न जाने कार्यक्रम तय भएको डल्लाकोटीले बताए ।

 

रत्ननगर, खैरहनी र राप्तीले दैनिक रूपमा फोहोर संकलन गर्दै आएका छन् भने कालिकाले व्यवस्थापनका लागि ठाउँ नपाउँदा उठाउन सकेको छैन । रत्ननगरमा दैनिक २५ टन, खैरहनीमा दैनिक ६ टन, राप्तीमा दैनिक २ टन फोहोर निस्कने गरेको छ ।