close

माझी समुदायले धुमधामका साथ मनाए कोसी पूजा

माझी समुदायले धुमधामका साथ मनाए कोसी पूजा

Trulli
ADVERTISEMENT

उदयपुर–उदयपुरका माझी समुदायले धुमधामका साथ मंगलबार कोसी (लदी) पूजा गरेका छन् । माझी समुदायले विभिन्न खोला तथा नदी किनारमा कोसी पूजा गरेका हुन् । कोसी पूजा अति सीमान्तकृत माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । माझी भाषामा लदी भन्नाले कोसी बुझिन्छ । कोसी पूजालाई माझी समुदायले लदी भन्ने गर्छन् ।

 

 

माझी समुदायले हरेक वर्षको फागुन तेस्रो साताको मंगलबार यो पर्व मनाउँदै आएका छन् । माझी समुदायले तेस्रो मंगलबारलाई साइली मंगलबार भन्छन् । साइली मंगलबारलाई शुभ दिनको रूपमा लिने गरेको माझी समुदायको ज्येष्ठ नागरिक बताउँछन् ।

 


नदी किनारमा बसोबास गर्ने माझी समुदायको पानीभन्दा अगाडि जन्म भएको किंवदन्ती रहेको छ । माझी समुदायको पुख्र्यौली थलो कोसी किनार हो । विशेषगरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोसी पूजालाई ठूलो पर्वको रूपमा लिने गर्छन् । लदी पूजाका दिन सामूहिक रूपमा माझी समुदायले नजिकैको नदी किनारमा महादेव, मसान, वज्रका साथै ठूलो कोसीको पूजा गर्छन् ।

 

 

वज्रको पूजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायको भनाइ छ । पुजामा राँगा, बोका, सुँगुर, कुखुरा, अन्डालगायत फूल, अक्षताले पूजा गरिने माझी समुदायका पुजारी बताउँछन् । सामूहिक रूपमा चेलिबेटी, कुलकुटुम्ब भेला भई भोज खाँदै दुःख–सुख बाँड्ने प्रचलन छ । पूजामा समुदायको हित हुन सकोस् भन्दै प्रकृतिलाई पूजा गर्ने चलन छ । 

 

किंवदन्तीअनुसार माझीको जन्मपछि पानीको जन्म भएको र माछा मार्न दुवाली छेक्दा कोसी नछेकिएपछि रगतको बलि दिई माछा मार्न सफल भएको लोककथा रहेको माझी अगुवा सुनाउँछन् ।

 

माझी समुदायले लदी अर्थात् कोसी पूजालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दीपक माझीले बताए । अति सीमान्तकृत समुदायको संस्कृति जगेर्नामा सरकारले चासो नदिएको संघको जिल्ला कार्यसमिति उदयपुरका सचिव माझी बताउँछन् ।

 

पूर्वको सुनसरीस्थित सप्तकोसी, सिरहा, सप्तरी, रामेछाप, सिन्धुली, उदयपुरका माझी समुदायले विभिन्न नदीमा नियमित कोसी पूजा गर्छन् । ०६८ को जनगणनाअनुसार माझीको जनसंख्या ७६ हजार ८ सय ३२ रहेको नेपाल माझी उत्थान संघले जनाएको छ । माझी समुदायले बेलका नगरपालिका वडा नम्बर ८, ७, त्रियुगा नगरपालिका वडा नम्बर ७ चुहाडे झोलुंगे पुल, कटारी नगरपालिका वडा नम्बर २ स्थित कमला नदीमा विविध सांस्कृतिक कार्यक्रमका साथ यो पर्व मनाएको नेपाल माझी उत्थान संघ कटारीका संयोजक राजकुमार माझीले बताए । पर्व अवसरमा प्रदेश सांसद कला घले, कटारी नगरपालिका उपप्रमुख भीमकुमारी राउत, वडाध्यक्ष प्रेम थापालगायतले शुभकामना दिएका थिए ।