close

गरिबी निवारणमा सफल हुँदै महालक्ष्मी

गरिबी निवारणमा सफल हुँदै महालक्ष्मी

Trulli
ADVERTISEMENT

धनकुटा– विपन्न व्यक्ति तथा परिवारका लागि रोजगारी तथा स्वरोजगारी सिर्जना हुने कार्यक्रममा स्थानीय सरकारले जोड दिइरहेका छन् । क्षमता अभिवृद्विका कार्यक्रमलाई एकीकृत गरी स्थानीय तहमा तालिम केन्द्र स्थापना गरेर रोजगार सिर्जना गर्ने र जीवनयापनलाई सहज बनाउने क्रम सुरु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाले गरिबी निवारण न्यूनीकरण गर्न आशातीत सफलता हात पारेको छ । 


गरिबी निवारणको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वको इच्छाशक्ति महत्वपूर्ण मानिन्छ । दृढ इच्छाशक्ति र सबल कार्यान्वय संयन्त्र निर्माण गर्न सके स्वतः परिणाम प्राप्त हुन्छ । यही दिशातर्फ महालक्ष्मी नगरपालिका उन्मुख भएको छ । नगरपालिकाले गरिब तथा असहायका लागि विभिन्न खाले कार्यक्रम ल्याएको छ । यसले कमजोर आर्थिक अवस्था, अपांगता भएका र वृद्धवृद्धालाई सहयोग मिलेको छ । 

 

नगरपालिकाले मलामी खाजा सहयोग कार्यक्रम, उज्यालो नगर कार्यक्रम, ‘मेरा लागि म गर्न सक्छु’ कार्यक्रम, प्रथम उपमेयर महिला जीविकोपार्जन कार्यक्रम लागू गरेर सीमान्तकृत, अपांगता भएका तथा वृद्धवृद्धालाई ठूलो राहत पुगेको छ । कतिपय महिला वा पुरुष उमेरले वृद्ध भए पनि नागरिकतामा वृद्ध भएका छैनन् । त्यस्तालाई सहयोग गर्न एकल महिला वा पुरुष सहयोग कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले उनीहरूलाई मासिक १ हजार उपलब्ध गराउन थालेको छ । फरक क्षमता भएका तथा वृद्धवृद्धालाई पनि  सहयोग गर्न थालिएको महालक्ष्मीका नगरप्रमुख परशुराम नेपालले बताए ।  


नगरमा गरिबीकै कारण कतिपय नगरबासीले बिजुली पाएका थिएनन् । जीवनयापनका लागि उज्यालो चाहिन्छ भन्ने समस्यालाई बुझेर कमजोर आर्थिक अवस्था भएकालाई उज्यालो दिन उज्यालो नगर कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यसले बिजुली बाल्न नसक्नेलाई सोलार बत्ती बाल्न सोलार उपलब्ध गराउँछ । 

 

नगरपालिकाबाट प्राप्त सहयोगले घरमा बिजुली बलेपछि खुसी लागेको स्थानीय विमला गिरी बताउँछिन् । घरमा ज्येष्ठ नागरिकले बिजुली देख्दा आनन्द महसुस गर्ने गरेको उनको अनुभव छ । 

 

यसबाहेक उपमेयर महिला जीविकोपार्जन कार्यक्रमले प्रत्येक वडामा नगरपालिकाले महिलाका लागि १ लाख रुपैयाँ प्रदान गर्छ । त्यहाँ महिलाले पाँच वटा समूह बनाएर एउटा समूहले २० हजार रुपैयाँ चलाउन पाउँछन् । यसबाट लक्षित महिलाको साह्रोगाह्रो टार्न सहयोग पुगेको छ । यो कार्यक्रमबाट नगरले प्रशंसा बटुलिरहेको छ भने समूहमा रहेका गृहिणीले पनि लाभ पाइरहेको स्थानीय तारादेवी श्रेष्ठ सुनाउँछिन् ।

 

जनप्रतिनिधि सुख, दुःखका मात्र नभई मर्दा र पर्दाका सारथि पनि हुन् भन्ने उदाहरण महालक्ष्मीले प्रस्तुत गरेको छ । आफन्त गुमेका बेला आर्थिक भार कम होस् भनेर नगरपालिकाले कमजोर आर्थिक अवस्था भएकालाई मलामी खाजा सहयोग कार्यक्रम ल्याएको वडा नम्बर ४ का वडाध्यक्ष दिलकुमार लिम्बूले बताए ।


जनप्रतिनिधिको दूरदृष्टि र योजनाले सुरु भएको ‘मलामी खाजा सहयोग’ कार्यक्रमले आफ्न्त गुमेका बेला थोरै भए पनि आर्थिक भार कम गरिदिएको स्थानीय नरबहादुर विश्वकर्माको भनाइ छ ।


नगरबासी सबै सम्पन्न र पहुँच भएका छैनन् । उनीहरू विभिन्न सीमाले बाँधिएका छन् । नगरले उनीहरुको जीवनलाई पनि सहज बनाउनुपर्छ भन्ने उद्देश्यले काम गरिरहेको छ । पाँच वर्षमा नगरपालिकाले अघि सारेका कार्यक्रमबाट महालक्ष्मीबासीको जीवनस्तरमा क्रमिक सुधार आएको छ । उद्यमी बन्ने चाहना र आर्थिक भार कम हुँदै जाँदा नगरबासी जनप्रतिनिधिको कामप्रति सन्तुष्ट रहेको नगरप्रमुख नेपालको दाबी छ ।

 

पालिकाले सञ्चालन गरेका कार्यक्रमबाट विपन्न सर्वसाधारण लाभान्वित बनिरहेका छन् । यसले उनीहरु विभिन्न समूह निर्माण गरी सामूहिक सहकार्य गर्न एकजुट मात्रै भएका छैनन्, एकअर्काका सुख–दुःखका साथी बन्न र हातेमालो गर्न सक्षम भएका छन् ।