close

टिपर दुर्घटनामा २ जनाको मृत्यु, २४ जन्ती घाइते

टिपर दुर्घटनामा २ जनाको मृत्यु, २४ जन्ती घाइते

Trulli
ADVERTISEMENT

उदयपुर–मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जन्ती घाईते भएका छन्  । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।

 

जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ५ सिथौली र खनिया खण्डको तेस्रो पुलमा पल्टिँदा उनीहरूको मृत्यु भएको हो ।  मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारीका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

 

जन्ती बोकेको ना३ख ७४९० नम्बरको टिपर दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  दुधौली ट्राफिक प्रहरी कार्यालयका अनुसार टिपरमा सवार अधिकांश कटारी नगरपालिका वडा नम्बर २ का स्थानीय रहेका छन् । उनीहरूको उपचार कटारी अस्पतालमा भइरहेको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार छिमेकी सिन्धुलीको वाणेगाउँबाट बेहुला–बेहुली लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको हो ।

 

घटनामा टिपरभित्र सवार अन्य २४ जना जन्ती घाइते भएका  छन् । उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । चारै जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्यको विराटनगर, कटारी र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । टिपर चालक हाल प्रहरीको नियन्त्रणमा छन् ।