चितवन । श्रीमानको यातनाका कारण ज्यान गुमाएकी पूर्वी चितवनको खैरहनी नगरपालिका-१० की गीता माझीको शव उठेको छ । रामचन्द्र माझीले श्रीमतीको मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा गीताको निधन भएको थियो ।
उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ ।
शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् । आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् ।
हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धि र बलात्कारको मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् । गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरुको जिम्मा स्थानीय अधिकारकर्मीहरुले लिने भएका छन् ।
न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरुको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।