close

संरक्षणको पर्खाइमा ऐतिहासिक पुल

संरक्षणको पर्खाइमा ऐतिहासिक पुल

Trulli
ADVERTISEMENT

तनहुँ । भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।

दिनप्रतिदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याक कुहिएर झर्न थालेपछि खाली हुँदै गएका छन् । दुई स्थानीय तह भीमाद नगरपालिका–७ र म्यादे गाउँपालिका– ५ जोड्ने यो पुलको लम्बाइ करिब १६ मिटर लामो छ । राजा सुरेन्द्र विक्रमशाहले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७०० रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए । 

त्यही गुठीबाट उक्त  झोलुङ्गे पुल निर्माण गरेको तथ्य फेला परेको छ । पुल निर्माणका लागि जिल्लाकै साविक ढोरफिर्दी हाल भीमाद नगरपालिकास्थित मिनाम खानीबाट फलाम उत्खनन गरी काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको बताइन्छ । 

पुलमा जडान गरिएका सम्पूर्ण धातु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरी हातको सिप प्रयोग गरिएको देखिन्छ । 

स्थानीय खानीको फलाम प्रयोग गरी साङ्लाको झोलुङ्गे पुल बनाइएको हुनाले यसको ऐतिहासिक महत्व रहेको छ । अर्कोतर्फ स्थानीय कालीगढले नै पुल निर्माण गरेकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ । 

भीमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले पुल संरक्षण तथा पुनःनिर्माण शीर्षकमा हरेक वर्ष आलोपालो बजेटको व्यवस्था गर्दै आएको छ । यस पुलसँग सम्बन्धित विज्ञ नभेटिँदा विनियोजित बजेट नै फ्रिज भएर गइरहेको छ । 

पुलको संरक्षण र मर्मत शीर्षकमा गण्डकी प्रदेश र भीमाद नगरपालिकाले पटकपटक गरी हालसम्म ९२ लाख बजेट विनियोजन गरिसकेको भीमाद नगरपालिका कार्यालयले जनाएको छ । 

भीमाद नगरपालिकाले आव २०७५/०७६ मा ६० लाख, आव २०७६/७७ मा १२ लाख, आव २०७७/०७८ मा रु २० लाख विनियोजनसहित कूल रु ९२ लाख बजेट विनियोजन भइसकेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए ।