close

सवारी दुर्घटना : चितवनमा ३ महिनामा ३४ जनाको मृत्यु

सवारी दुर्घटना : चितवनमा ३ महिनामा ३४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटना बढ्दो क्रममा रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । 

गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उनको भनाइ छ । ती दुर्घटनामा परेर ९१ घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर आठ मात्रै रहेको छ । उक्त महिनामा ११५ जना घाइते भएका थिए ।

दुर्घटनाको सङ्ख्या हरेक महिना घटबढ हुँदै आइरहेको भन्दै सवारी चालकले सचेत भएर सवारी साधन चलाए आफैं दुर्घटना न्यूनीकरण हुने उनले बताए । 

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार पछिल्लो तीन महिनामै आठ हजार २६४ सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । यसअनुसार गत चैतमा दुई हजार ५२६, वैशाखमा दुई हजार ५२८ र जेठ महिनामा तीन हजार २१० सवारी साधनलाई कारबाही गरिएको छ ।

कारबाहीबापत ट्राफिक प्रहरीले राजस्वसमेत उठाउँदै आइरहेको छ । तीन महिनामै कार्यालयले कारबाहीबापत ७६ लाख ४९ हजार ५०० राजस्व सङ्कलन गरेको छ ।