close

खाद्यान्न ढुवानी नगरप्रमुखको तदारुक्ता, कार्यालयको मौजादले असोजसम्म पुग्ने

खाद्यान्न ढुवानी नगरप्रमुखको तदारुक्ता, कार्यालयको मौजादले असोजसम्म पुग्ने

Trulli
ADVERTISEMENT

बाजुरा ।बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालय प्रमुखसँग छलफल थालेका छन् । 

नगरप्रमुख बोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसँग खाद्यान्न र नुनको अवस्थाबारे छलफल गरेका हुन् । 

नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर बुडा र नुन डिपो प्रमुख जयराम रेग्मीसँग छलफल गर्दै खाद्यान्न र नुनको अवस्थाबाारे जानकारी लिए । 

स्थानीयलाई खाद्यान्न र नुनका लागि समस्या नहोस् भनेर दुवै डिपो प्रमुखलार्ई आफ्नो कार्यकक्षमा बोलाई खाद्यान्न पर्याप्त भए नभएकोबारे जानकारी दिँदै अपुग भए चाँडो ढुवानी गर्नुपर्ने बताए । 

बर्खा लागिसकेकाले खाद्यान्न र नुन ढुवानीमा समस्या हुनसक्ने भन्दै उनले अपुग भए तत्काल ढुवानी गर्न निर्देशन दिए । 

सडकको अवस्था राम्रो नभएकाले वर्षातको समयमा ढुवानी गर्न समस्या हुने भन्दै उनले स्थानीयलाई कति आवश्यक पर्छ त्यो समयमै ढुवानी गर्न कर्मचारीलाई आग्रह गरे । 

छलफलका क्रममा खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि नुन ढुवानी गर्नुपर्ने अवस्था नरहेको कर्मचारीले बताएका छन् । 

नुन डिपो प्रमुख जयराम रेग्मीले यस वर्ष नौ सय ८० क्विन्टल नुन वितरण हुने अनुमान गरिएको बताए । नौ सय ५७ क्विन्टल डिपोमा मौजाद रहेको र २३ क्विन्टल ढुवानी हुने क्रममा रहेकाले यस वर्षका लागि नुन पर्याप्त हुने उनले जानकारी दिए । 

यस्तै, नेपाल खाद्य संस्थान प्रमुख भीमबहादुर बुढाले कार्यालयमा दुई हजार पाँच सय क्विन्टल चामल मौजाद रहेको बताए । 

अहिले दैनिक सरदर वितरण हुने २० क्विन्टलका दरले महिनामा ६ सय क्विन्टल चामल आवश्यक पर्ने उनले जानकारी दिए । 

यही अनुपातमा चामल बिक्री वितरण भए साउन, भदौ र असोज गरी तीन महिनालाई पुगे पनि कार्तिकका लागि अपुग हुन सक्ने कार्यालय प्रमुख बुढाले बताए । 

कार्यालयमा मौजाद रहेको चामल यस वर्षका लागि पुग्ने अनुमान गरिए पनि दैनिक २० क्विन्टलभन्दा बढी बिक्री वितरण भएको खण्डमा केही भन्न नसकिने उनले बताए । 

गत वर्ष यतिबेला १ हजार क्विन्टल चामल मौजाद रहेको कार्यालयमा अहिले २ हजार ५ सय क्विन्टल मौजाद रहेको कार्यालयले जनाएको छ । कोल्टीका लागि पाँच हजार क्विन्टल चामलको कोटा थपिए पनि मुल्यवृद्धि भएको भन्दै ठेकदारले ढुवानी गर्न नमानेकाले समस्या भएको कार्यालय प्रमुख बुढाले बताए । 

६ महिना खान नपुग्ने बाजुरामा अधिकाशंलाई खाद्यान्नको भर भए पनि समयमा उपलब्ध नहुँदा वर्षेनी दुःख पाउने गरेको स्थानीयले बताए ।