close

वर्षाले ५ स्थानीय तहको यातायात अवरुद्ध

वर्षाले ५ स्थानीय तहको यातायात अवरुद्ध

Trulli
ADVERTISEMENT

भोजपुर । वर्षाका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातायात सेवा बन्द छ । सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध संकलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ संकलनमा समस्या भएको बताउँछन् । “कष्टपूर्ण यात्रा गरेर कृषिउपज बजारसम्म लैजानुपर्छ”, उनले भने । सडक अवरुद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ । दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए । 

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।