close

विपत‍्बाट २० लाख मानिस प्रभावित हुने आँकलन

विपत‍्बाट २० लाख मानिस प्रभावित हुने आँकलन

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो एक महिनामा मनसुनजन्य विपत‍्मा परेर २८ जनाले ज्यान गुमाएका छन् । 

नेपाल विपत् जोखिम न्यूनीकरण पोर्टलका अनुसार सोही अवधिमा ३९ जना घाइते भएका छन् भने २०५ परिवार प्रभावित भएका छन् । 

त्यसैगरी, पछिल्लो एक हप्तामा भारी वर्षा र चट्याङमा परी १२ जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन् भने ६६ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मौसमजन्य विपत्का कारण लगभग चार लाख २१ हजार घरधुरीका २० लाख मानिस प्रभावित हुनसक्ने आँकलन गरेको छ ।  

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहत्ताले यस वर्ष बढी पानी पर्ने भएकाले प्राकृतिक विपत्को जोखिम पनि बढ्न सक्ने बताए । 

‘जलवायु परिवर्तनका कारणले अत्यधिक वर्षा भएको उनले भनाइ छ । मनसुन सक्रिय भएको बेलामा माटो कमसल भएका कारणले पहिरो जाने गर्दछ । पछिल्लो समयमा विकासका नाममा जथाभावी सडक खन्ने, डोजर चलाएर जमिन कटिङ गर्नाले पानीले माटो बगाएर पनि बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दै गइरहेको छ,’ उनले भने । 

विपत् व्यवस्थपनबारे छलफल भइरहेको जानकारी दिँदै उनले विपतमा परी घरबार गुमाएकाहरूलाई टेन्ड र खाद्यान्न व्यवस्थापनबारे काम भइरहेको बताए । 

नागरिकले बाढीपहिरो जाने ठाउँमा नबस्ने, आफ्नो बसोबास क्षत्र सुरक्षित छ कि छैन सूचना लिनेजस्ता काम गरेमा विपत्बाट हुनसक्ने सम्भावित जोखिमबाट बच्न सकिने मरहत्ताको भनाइ छ । 

प्राधिकरणको तर्फबाट नागरिकलाई सचेतना गराउन काम हुँदै आएको उनले जानकारी दिए । 

प्राधिकरणका सूचना अधिकारी दिजन भट्टराईले तराईका २३ जिल्ला डुबान र पहाडका २२ जिल्लामा बाढीपहिरोको उच्च जोखिममा रहेको भन्दै अन्य ३२ जिल्ला सामान्य जोखिममा रहेको बताए । 

विपत्बाट हुनसक्ने क्षति कम गर्नका लागि सरकारले निरन्तर काम गरिरहेको उनको भनाइ छ । 

विपत् व्यवस्थापन गर्ने ‘विपत् पूर्वपरिषद् प्रतिकार्य राष्ट्रिय कार्य योजना’ प्रभावकारी कार्यान्वयन भइरहेको भट्टराईले जानकारी दिए । 

गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, सिँचाइ विभाग र तीनवटै सुरक्षा निकायले एकआपसमा मिलेर विपत् व्यवस्थापनका लागि काम गरिरहेको उनको भनाइ छ । 

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखाका प्रमुख (सहसचिव) को संयोजकत्वमा मनसुन प्रतिकार्य कमान्ड टोली निर्माण गरिएको उनले जानकारी दिए । 

उनका अनुसार यसले देशव्यापीरूपमा विपत्को समयमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने गर्छ । सोहीबमोजिम जिल्ला अधिकारीले आवश्यक काम गर्ने गरेको उनको भनाइ छ । 

विपत् जोखिम व्यवस्थापनमा राज्यले विभिन्न कोषमार्फत् ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ छुट्याएको प्राधिकरणले जानकारी दिएको छ ।  

गृह मन्त्रालयका सहप्रवक्ता फणीन्द्रमणि पोखरेलले स्थानीय तह र संघीय सरकारका प्रतिनिधि जिल्ला अधिकारीको समन्वयमा विपत् जोखिम न्यूनीकरण पूर्वतयारी हुने गरेको जानकारी दिए । 

‘सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका विपत् व्यवस्थापनसम्बन्धी तालिम लिएका मानिसलाई ठाउँठाउँमा राखिएको छ । हाम्रा स्रोतबाट आवश्यकताअनुसारको  सामान खरिद तथा जोहो गर्ने व्यवस्थापन गरिएको छ,’ पोखरेल भन्छन्, ‘नेपाली सेनाका हेलिकप्टर पनि तयारी अवस्थामा छन् । आवश्यक परेमा प्रयोग गर्न सक्छौँ ।’

एघार वर्षमा मनसुनजन्य विपत्ले पारेको क्षतिको विवरण 

यो अवधिमा पाँच हजार आठ सय २५ मनसुनजन्य विपत्का घटना घटेका छन् । जसमा परी दुई हजार तीन सय ६२ जनाले ज्यान गुमाए । त्यसैगरी, प्रकोपमा परी बेपत्ता हुनेको संख्या ८८० छ । 

यस्तै, बाढीपहिरो र अत्यधिक वर्षाजस्ता मनसुनी विपत्का कारण एक हजार ६ सय ४६ जना घाइते भएका छन् ।

त्यसैगरी, ७८ हजार आठ सय ११ परिवार प्रभावित  भएका छन् । ४५ हजार तीन सय ९३ घर आंशिक रुपमा प्रभावित भएका छन् भने १६ हजार ३९ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ११ वर्षमा एक हजार सात सय ५६ वटा बाढीको घटना घटेका छन्  ।

यो अवधिमा १९ अर्बभन्दा बढीको क्षति भएको प्राधिकरणको अनुमान छ ।