close

ज्येष्ठ नागरिकका लागि महानगर गम्भीर छ: मेयर कोइराला

ज्येष्ठ नागरिकका लागि महानगर गम्भीर छ: मेयर कोइराला

Trulli
ADVERTISEMENT

विराटनगर महानगरपालिका प्रमुख (मेयर) नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको बताएका छन् ।

विराटनगरको पुष्पलालचोकस्थित महिला जागृति तथा वृद्धाश्रमले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई सम्मानितरूपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

“ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अनुशरण गर्न सके समाज समृद्ध हुन्छ । जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुन्छन् ।” उनले भने,  “वृद्धवृद्धालाई सम्मान गर्ने व्यक्तिले पनि भविष्यमा समाजबाट सम्मान पाउँछन् ।” 

उनले महिला जागृति तथा वृद्धाश्रमलाई महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । “हाम्रोतर्फबाट यस संस्थालाई पूर्णरूपमा सहयोग रहन्छ”, महानगर प्रमुख कोइरालाले भने, “हामी महानगरमा आएको पनि धेरै भएको छैन, बुझ्दैछौँ के गर्न सकिन्छ गर्छौँ ।” 

कार्यक्रममा विराटनगर–१, २ र १९ वडाध्यक्षहरु क्रमशः काजी बस्नेत,  कुमार पोखरेल, श्याम घिमिरेले पनि महानगरका तर्फबाट वृद्धाश्रमलाई सहयोग गर्ने जानकारी दिए ।

वृद्धाश्रमका वरिष्ठ सल्लाहकार मणि अज्र्याल, अध्यक्ष भुवनेश्वरी आचार्य, सचिव मनमाया क्षेत्री, समाजसेवी कृष्ण कट्टेललगायतले वृद्धाश्रमको छानो चुहिन थालेको गुनासो गरे । खानाका लागि समस्या नभए पनि वृद्धाहरूलाई बस्न समस्या भएको उनीहरूले बताए ।

२३ वर्षअघि स्थापना भएको संस्थामा १२  वृद्धा बस्दै आएका छन् । पछिल्लो समयम ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा छाडेर सन्तानहरू विदेशिने गरेको र यसबाट ज्येष्ठ नागरिकलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारले पनि ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपैयाँ भत्ता दिने गरेको छ भने बासका लागि आश्रम पनि वृद्धि भइरहेको छ । सन्तानको मोह त्यागेर आश्रममा बस्ने ज्येष्ठ नागरिकहरु राज्यतर्फ आकर्षित देखिन्छन् ।