close

एउटा बालविवाहको कारुणिक अन्त्य : गयो मेहेकको ज्यान

एउटा बालविवाहको कारुणिक अन्त्य : गयो मेहेकको ज्यान

Trulli
मेहेक महतो
ADVERTISEMENT

चितवन । मेहेक महतो चितवन माडीको सोमेश्वर माध्यमिक विद्यालयकी छात्रा हुन् । उनी २०७७ सालमा कक्षा ९ मा पढ्दै थिइन्। त्यतिबेला उनको उमेर १४ वर्षको थियो। सोही विद्यालयमा उनकै क्लासमा पढ्थे विमल (नाम परिवर्तित) पञ्जियार। उनी मेहेकभन्दा १ वर्ष जेठा अर्थात् १५ वर्षका थिए।

दुवै जना एकै कक्षामा पढ्ने विद्यार्थी। सोही विद्यालयमा पढ्दा पढ्दै एक अर्काप्रति आकर्षित भएछन्। प्रहरीकै भनाइमा दुईजनाबीच गाढा माया बसेछ। त्यसैको परिणाम २०७७ साल पुस मसान्तमा मेहेक विमलसँग भागिन्। अर्थात्, उनीहरूले स्वेच्छाले विवाह गरे।

नेपालको कानुनले २० वर्षमुनि विवाहमा रोक लगाएको छ। एकातिर बालविवाह स्वतः बदर हुन्छ। अर्कोतिर मेहेक र विमल दुवै नाबालक नै थिए। त्यसैले उनीहरूको विवाह परिवारमा स्वीकार्य हुने कुरै भएन।

मेहेकले स्वेच्छाले भागेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय माडीमा आमा उर्मिलाले जाहेरी दिइन्। जाहेरीपछि प्रहरीको सहयोगमा परिवारले उनलाई विमलसँग छुटाएर घर ल्याए। फेरि यस्तो काम नगर्ने सहमति पनि प्रहरीमै भयो।

मेहेक घर फर्किएको केही दिन विद्यालय गइनन्। परिवारमा बाबुआमालाई छोरीलाई राम्रो शिक्षा दिने चाहना थियो। त्यसैले पुनः विद्यालय पठाउन थाले। विमल पनि नियमित विद्यालय जान थाले। विद्यालय सुरु भएसँगै प्रहरी र आफन्तले छुटाएका बालक र बालिका बीचको आकर्षण फेरि बढ्यो।

मेहेककी आमा उर्मिला भन्छिन्, ‘घर फर्काएको एक महिना दश दिनपछि अर्थात् चैत १० गते फेरि मेहेकलाई विमलले भगायो।’

मेहेकका बाबु उत्तम प्रहरीको जागिरे हुन्। नारायणहिटीमा उनको पोस्टिङ छ। त्यसैले मेहेक, उनकी एक बहिनी, एक भाइ र आमा हजुरबुबा हजुरआमासँगै बस्छन्। मेहेक फेरि भागेपछि तत्कालै परिवारले इलाका प्रहरी कार्यालय माडीमा जाहेरी दिए। एक रातपछि प्रहरी र परिवार मिलेर उनलाई घर फर्काए।

त्यसपछि भने करिब वर्ष दिन उनी परिवारसँगै बसिन्। विद्यालय पनि नियमित गइन्। तर, विमलले भने कक्षा ९ उत्तीर्ण गर्न सकेनन्। मेहेक विद्यालय गइरहन्थिन्। कक्षा १० को पढाइ चलिरहेको थियो। एसइई नजिकै आइरहेको थियो। परिवार पनि छोरीले नियमित पढाइ अगाडि बढाएकोमा खुसी थिए।

तर, २०७८ मंसिर १ गते पढ्न गएकी मेहेक घर फर्किनन्। उनी फेरि विमलसँगै स्वेच्छाले भागिछन्। छोरी घर नआएको थाहा पाएपछि तस्बिरसहित आमाले इलाका प्रहरी कार्यालय माडीमा जाहेरी दिइन्।

यस पटक भने प्रहरी पनि उनीहरूको लागि सहयोगी भएन। उर्मिला भन्छिन्, ‘तिमीहरूको छोरीले बिहे गरेर गइसकिन। कति पटक फर्काएर ल्याउने भनेर प्रहरीले हामीलाई सहयोग गरेन।’

अघिल्ला पटक छोरासँग भागेकी नाबालिका फर्काउन सहयोगी बनेका विमलका परिवार र आमाबुबाले पनि यस पटक मेहेकलाई फर्काउने रुचि देखाएनन्। बरु केही समय आफन्तको घरमा पठाएर दुवै बालकको विवाहमा सहयोगी बने।

माडी नगरपालिका वडा नम्बर २ नयाँपर्सा मेहेकको घर हो। सोही वडाको चिरौली गाउँमा विमलको घर छ। दुवै जनाको घर आउजाउ गर्न लाग्ने समय करिब १५ मिनेट मात्रै रहेको मेहेकका हजुरबुबा सिताराम महतो बताउँछन्।

त्यति थोरै दूरी भएपनि मेहेकलाई विमलको घरमा गएर आमाबाबुले भेटेनन्। पटक पटक खोज्दा समेत छोरी नभेटिएपछि प्रहरीलाई भन्दा छाडिदेऊ अब बिहे गरिसकी भन्ने जवाफ आएको उनको परिवारले बताए।

माइतीले खोज्छन् भनेर माडीबाट पूर्वी चितवनमा रहेको विमलको मामाघर त कहिले फुपूको घरमा लुकाएर छोरीलाई फर्काउन नदिएको उनको परिवारको दाबी छ।

विमलका मामा पनि नेपाल प्रहरीका जागिरे हुन्। उनैको घरमा लुकाएको थाहा पाएर छोरी फर्काइदिन अनुरोध गर्दै फोन गरेपछि भोलिपल्ट बिहानै मामाले छोरीलाई फोन संवाद गराएको आमा उर्मिलाको स्मृतिमा ताजै छ। भन्छिन्, ‘फोनमा म जहाँ छु खुसी छु। मलाई खोज्ने दुःख नगर्नु भनी। त्यसपछि फोन काटेकी छोरीको फेरि बोली सुन्न  पाइन।’

छोरी फर्काउन नसकेर उसकै खुसी भनेर बसेका आमाबाबु यही असार १६ गतेको अप्रत्याशित खबरले छाँगाबाट खसे झैँ भए।

‘बेलुका साढे ६ बजेतिर छोरीको छिमेकीले तिम्री छोरीले झुन्डिएर आत्महत्या गरी भनेर खबर ल्याउने बित्तिकै थचक्कै भुँइमा बसेँ,’ उर्मिलाले भनिन्।

मेहेकको परिवारका अनुसार दिउँसै घरभित्र झुन्डिएकी छोरीबारे १५ मिनेटको दूरीमा रहेको माइतीलाई विमलको परिवारले खबरै गरेनन्। बेलुका साढे ६ बजे पुग्दा डोरी आफै काटिसकेका उनीहरूको दाबी छ।

जबरजस्ती विवाह गरेर गएकी छोरीले ६ महिना पूरा नहुँदै आत्महत्या गरेको छिमेकीबाट थाहा पाएपछि मेहेकका परिवारले आत्महत्या नभई विमल  र उनका परिवारले हत्या गरेको जाहेरी प्रहरीलाई दिएका छन्।

विमल अहिले पनि नाबालक नै छन्। चितवन प्रहरीका अनुसार विमलको उमेर १६ वर्ष ९ महिना मात्रै पुगेको छ। मेहेक त आउँदो साउनमा बल्ल १५ वर्ष पुग्थिन्।

मेहेकलाई फर्काउनुको सट्टा हत्या गरेको आरोप लगाउँदै उनका आमा लगायत परिवारले विमलसहित उनका बुबा दुर्गा पञ्जियार र आमा जयरमीया कुमारी पञ्जियारविरुद्ध हत्या, बलात्कार, शरीर बन्धक तथा अपहरण अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार घटनाका आरोपी भनिएकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यस घटनामा बालबालिकाबीच भएको सम्बन्ध छुटाउन दुवै परिवारले बलियो भूमिका निर्वाह नगरेको कारण बालिकाको ज्यान गएको एसपी अधिकारीले विश्लेषण छ।

‘घटनाको थप जानकारीको लागि भने हामी अनुसन्धानमै छौँ। तर, बालबालिकाको सम्बन्धमा परिवार संवेदनशील नहुँदा भएको गम्भीर परिणामका रुपमा भने यो घटनालाई लिन सकिन्छ,’ एसपी अधिकारी भन्छन् ।

 

नोट : मेहेक महतोको परिवारको अनुमतिले उनको नाम र तस्बिर प्रयोग गरिएको हो भने विमल (नाम परिवर्तित) अझै नाबालिग भएकाले यहाँ वास्तविक नाम प्रयोग नगरिएको हो।

 श्रोत: आइएनएस-स्वतन्त्र समाचार