close

गरिमाको पहलमा चण्डेश्वरी अस्पतालमा वृक्षारोपण

गरिमाको पहलमा चण्डेश्वरी अस्पतालमा वृक्षारोपण

ADVERTISEMENT

काठमाडौँ । गरिमा विकास बैंकले आज मंगलबार टोखा नगरपालिका वडा नं. २ मा रहेको टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ ।

वृक्षारोपण कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले काठमाडौँ कंक्रिटको शहर बनिसकेको हुँदा हरियाली बढाउन पहल थाल्न ढिला भइसकेको बताउँदै बैंकको कार्य अनुकरणीय रहेको भन्दै प्रशंसा समेत गरे । 

साथै उनले कंक्रिटको शहर बन्नबाट रोक्न स्थानीय सरकारले मात्रै नसक्ने हुँदा वातावरण जोगाउन यस्ता कार्यहरूलाई व्यापक बनाउनु पर्ने बताए । जसले गर्दा वातावरणमा पर्ने असर न्यूनीकरण समेत हुने उनको भनाइ थियो ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले अस्पताल परिसरमा २ सय वटा फलफूलका बिरुवा रोपिएको जानकारी दिए । साथै उनले बिरुवा रोप्नु नै ठुलो कुरो नभएको तथा यसको संरक्षण गर्न सक्नु प्रमुख चासोको विषय रहेको बताए ।

‘हामी यो बिरुवाको संरक्षणमा समेत सहयोग गर्छौँ,’ ढकालले भने, ‘हामीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न कार्य गरेका छौँ। जसमा वृक्षारोपणदेखि जेहनदार विद्यार्थीलाई छात्रवृत्ति पनि दिएका छौँ भने असहायहरूलाई सहयोग गरेका छौँ ।’

साथै उनले स्थानीयको आवश्यकता अनुसार विभिन्न भवनहरू समेत निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको जानकारी दिए ।

बैंकका उपप्रमुख माधवप्रसाद उपाध्यायले पोखरामा बैंकको केन्द्रीय कार्यालय भए पनि काठमाडौँमा टोखाबाट कार्य शुभारम्भ गरेको स्मरण गर्दै सो नगरपालिकासँग वशिष्ठ सम्बन्ध रहेको बताए । टोखाको सौन्दर्यीकरण केही सहयोग गर्न पाउँदा बैंकलाई खुसी लाग्ने भनाइ समेत उनको थियो । 

अस्पतालका अध्यक्ष युथ महर्जनले गरिमा विकास बैंकको सहयोगमा रोपिएका बिरुवाहरूको संरक्षण गर्ने दायित्व आफ्नो भएको बताउँदै रोपिएका बिरुवाहरूको हेरचारमा कमी हुन नदिने विश्वास व्यक्त गरे ।

देशका विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको गरिमा विकास बैंकले देशभर १२० शाखा बिस्तार गरिसकेको छ ।