close

दाहसंस्कार गर्न गाउँपालिकाले ५ हजार दिने

दाहसंस्कार गर्न गाउँपालिकाले ५ हजार दिने

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । स्थानीय सरकारले आ-आफ्नो पालिकामा विविध निर्णय गरिरहेका छन् । अरूभन्दा फरक र उदाहरणीय काम गर्न भन्दै विभिन्न 'पपुलर' कार्यक्रमहरू ल्याइरहेका छन् । 

सोलुखुम्बुको सोताङ गाउँपालिकाले पनि अरूभन्दा फरक खालको कार्यक्रम ल्याएको छ । गाउँपालिकाले पालिकाभित्र मृत्यु भएकाको परिवारलाई दाहसंस्कार गर्न मृतकको पाँच हजार रूपैँया उपलब्ध गराउने निर्णय गरेको छ ।

‘गाउँमा दाहसंस्कार समेत गर्न नसक्ने विपन्न मानिसहरू हुन्छन्, पैसाको अभावले मृत्यु संस्कारसमेत गर्न नसक्ने परिवारको लागि सहयोग गर्ने निर्णय गरिएको हो ।’ गाउँपालिकाको अध्यक्ष खिलराज बस्नेतले पालिका खबरलाई बताए । 

आयआर्जनको निश्चित स्रोत भएका र दासंस्कार गर्न सक्षम भएका परिवारले भने यो सुविधा लिन पाउने छैनन् । दाहसंस्कारको रकम लिन आफू विपन्न भएको निवेदन दिनुपर्ने र विपन्न ठहरिएमा सेवाबापत‍्को ५ हजार रुपैँया सहयोग पालिकाबाट पाउनेछन् । 

गाउँपालिकाले दोस्रो कार्यपालिकाको बैठकमा विपन्न परिवारलाई सहयोग प्रदान गर्ने निर्णय पालिकाले गरेको हो । साउन १ गतेदेखि सेवा सुरु गरिएको उनले बताए । 

सूचना सम्प्रेषण गरेर वडामा पत्रचार पठाएको र वेबसाइटबाट पनि यो सहयोगको बारेमा सूचना दिएको उनले बताए । यस आर्थिक वर्षमा दाहसंस्कार सहयोग खर्चको लागि गाउँपालिकाले ७ लाख बजेट छुट्याएको छ ।