close

अनियमिततामा अगाडि रहेको स्थानीय तहलाई उपाधि !

अनियमिततामा अगाडि रहेको स्थानीय तहलाई उपाधि !

Trulli
ADVERTISEMENT

हेटौंडा । केही दिन अघि जिल्ला समन्वय समिति मकवानपुरले आठौं सभा सम्पन्न गर्‍यो । सभाको अवसरमा स्थानीय तहले गरेको कामको  मुल्याङ्कन गर्दै जिल्लाकै उत्कृष्ट तहको घोषणा गरियो । जसमा उत्कृष्ट पालिकाको उपाधि राक्सिराङ्ग गाउँपालिकाले पायो ।

तर, जिल्लाकै उत्कृष्ट घोषणा भएको पालिका नै आर्थिक अनियमिततामा अगाडि देखिएको छ । स्थानीय तहको २०७९ को लेखा परीक्षण प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छ । जसमा स्थानीय तहहरूले बजेट खर्चमा गरेको अनियमितताका प्रतिवेदनहरू सार्वजनिक भएका छन् । 

राक्सिराङ्ग गाउँपालिकामा खोलाबाट संकलन गरिने ढुङ्गा, गिट्टी, बालुवाको कर संकलनमा ठूलो रकमको हिनामिना भएको पाइएको छ । मनहरी खोलाको मनहरी पुलबाट ५०० मिटर उत्तरदेखि चैनपुर गोराङ्दी दोभानसम्ममा ढुङ्गा, गिट्टी, बालुवाको आईई गरेको परिमाणभन्दा कम कर संकलन गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले गाउँपालिकामाथि प्रश्न उठाएको छ । प्रतिवेदनमा गाउँपालिकालाई नोक्सानी हुनेगरी अमानतमा तोकिएको भन्दा कम कर संकलन भएको उल्लेख छ । महा लेखा परिक्षणले हिनामिना भएको १ करोड १८ लाख ९९ हजार ३६७ रुपैयाँ जनप्रतिनिधि र कर्मचारीबाट असुल गर्न सुझाव दिएको छ ।

त्यस्तै राक्सिराङ गाउँपालिकाकै गिंगु आधारभूत विद्यालयलाई कालिका माध्यमिक विद्यालयमा मर्ज भएको छ ।  तर शिक्षकको तलब भने गिंगु आधारभुत विद्यालयमा नै निकाशा भइरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै मकवानपुरको दास्रो उत्कृष्ट पालिका बनेको ईन्द्रसरोवर गाउँपालिकामा पनि अनियमितता पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रममा आर्थिक अनियमितता भएको पाइएको हो । ज्येष्ठ नागरिकलाई फाइबरका सिरक खरिद गर्दा जनप्रतिनिधि र कर्मचारी मिली अनियमितता गरेको पाइएको छ।
गाउँपालिकाले टेण्डर नै नगरी सिरक खरिद गरेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । १० लाख १७ हजार रुपैयाँ लागतमा खरिद गरिएको सिरकमा पूर्ण रुपमा वितरण गरिएको भर्पाइ पनि पाइएको छैन । 

तेस्रो उत्कृष्ट पालिका बनेर जिल्लाबाट पुरस्कृत बनेको बागमती गाउँपालिकामा नदीजन्य पदार्थको ठेक्का मिलेमतोमा भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्रमार्फत् प्रतिस्पर्धा नगराई आफूखुसी दिएको पाइएको हो । 

पालिकाले विपद् पूर्व तयारीका जाली खरिद गरेको तर प्रयोग गरिएको स्थान भने भेटिएको छैन । जाली खरिद गर्न प्रयोग भएको २ लाख ६४ हजार ३१९ रुपैयाँ बिल पाइएको महालेखाले जनाएको छ । त्यसैगरी टंकेश्वर आधारभूत विद्यालयले विभिन्न १० थरीका सामग्रीहरू खरिद गरेको बिल भए पनि विद्यालयको जिन्सी खातामा ती सामानहरू छैनन् ।

जनप्रतिनिधिहरू नीजि स्वार्थमा लाग्दा आफ्नो जिम्मेवारीमा चुकेको र अयिनमितता भएको देखिन्छन् । स्थानीय तहका पहिलो कार्यकाल भएका बजेट हिनामिनाले जनप्रतिनिधिहरूको स्वार्थ प्रष्ट्याएको छ । मकवानपुर जिल्लाका १० स्थानीय तहहरूमा बजेट हिनामिना भएको तथ्य फेला परेको छ । देशमा स्थानीय तह आएपछि सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा पुगेको छ । तर उक्त अधिकारको दुरुपयोग गर्दै कमिसनकै लागि आफूखुसी बजेट खर्च गर्ने प्रवृति बढ्दै गएको देखिन्छ ।