close

६ वर्षपछि ताला फोडियो

६ वर्षपछि ताला फोडियो

Trulli
ADVERTISEMENT

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला ६ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो ।  महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड ’निर्माण गर्न लागिएको छ ।

पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ । गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो । 

कोरोनाको सङ्क्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।