close

लम्कीचुहाका १३० भूमिहीनलाई लालपूर्जा वितरण

लम्कीचुहाका १३० भूमिहीनलाई लालपूर्जा वितरण

Trulli
ADVERTISEMENT

कैलाली । जिल्लाको लम्कीचुहा नगरपलिकाले मंगलबार १३० भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजनाबद्ध रुपमा काम सुरु गरिसकेको बताउँदै लम्कीचुहाका बादी समुदायका १३० भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेकी हुन् ।

लम्कीचुहा नगरपालिका ३ को बादी बस्तीमा भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले बाझो जमिनको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको बताइन् । 

मन्त्री श्रेष्ठले मुक्तहलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् । नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेको र रोजगारी खोज्न बाहिर हिँड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठले बताइन् । 

उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रुपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनीरुपमा जग्गाको मालिक बनाइएको बताइन् । 

मन्त्री श्रेष्ठले यहि वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन् । 

उनले २०४९ सालभन्दा अगाडि विभिन्न साझा संस्थामा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीको ऋण मोचन गर्न आफू लागि परेको पनि बताइन् ।