close

जंगल र खोल्साको पानी मानवबस्तीमा पसेर वितण्डा

जंगल र खोल्साको पानी मानवबस्तीमा पसेर वितण्डा

Trulli
ADVERTISEMENT

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा जंगल र खोल्साको भल मानववस्तीमा पस्ता दुई घर र एक गोठमा क्षति पुगेको छ ।

जङ्गल र खोल्साबाट सडक हुँदै आएको भल मानवबस्तीमा पसेर घरगोठ र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको हो । स्थानीय सावित्री ढकाल र रामकुमार श्रेष्ठले भलले आफ्नो घरमा पनि क्षति पुगेको बताए । 

यस्तै, चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अन्नपात र लत्ताकपडा पनि कामै नलाग्ने भएको उनीहरुले बताए ।

‘बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन,’ वडाध्यक्ष भण्डारीले भने, ‘थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ ।’

नीलकण्ठ–१२ कै आलडाँडाभन्दा माथिबाट सडकमा जम्मा हुँदै आएको भल ह्युमपाइपले नधानेपछि सडक र बारीका कान्ला भत्काउँदै बस्तीमा ओइरिएको स्थानीयवासीले बताएका छन् । लेदो, माटो, ढुङ्गासहितको भलले बिजुलीका खम्बामा पनि क्षति पुगेको छ ।

 एउटा बिजुलीको खम्बा ढलेर सावित्री ढकालको घरको कर्सामा अड्किएको छ । उता नीलकण्ठ–१२ कै केउरेली खोल्सामा आएको भलले पारस लम्सालको गोठ भत्काएको छ ।