close

महानगरले एकाएक डोजर चलाएको उद्योग वाणिज्य संघको आरोप

महानगरले एकाएक डोजर चलाएको उद्योग वाणिज्य संघको आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं । उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघले महानगरपालिकाका मेयर बालेन्द्र साहले शहरका अवैध संरचनाहरु हटाउने नाममा आतंक मच्चाएको आरोप लगाएको छ। 

सार्वजनिक सूचनाको भरमा एकाएक डोजर चलाएको भन्दै संघको आज बसेको आकस्मिक बैठकले विरोध जनाएको हो ।

संघले जारी गरेको विज्ञप्तिमा निर्वाधरुपमा सन्चालित व्यवसायमाथि डोजर चलाएर व्यवसायीको करोडौँ लगानी डुबाउने काम गरेको भन्दै महानगरसँग क्षतिपूर्तिसमेत मागिएको छ । कोरोना महामारीबाट थलिएका व्यवसाय भखरै ब्युँतिन खोजेको अवस्थामा महानगरपालिकाले गरेको कार्य पीडादायी भएको विज्ञप्तिमा उल्लेख छ ।

संघले भनेको छ, ‘महानगरपालिका आफैंले व्यवसाय सञ्चालन गर्न अनुमति दिने,व्यवसाय कर संकलन गर्ने,घरधनीबाट घरभाडा कर असुल गर्ने अनि घरधनीले नक्सा पासबमोजिम घरभाडामा नलगाएको भन्दै व्यवसायीलाई एकतर्फी रुपमा व्यवसाय पूर्ण रुपमा विस्थापित हुनेगरी जबरजस्ती खाली गराउँदा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

व्यवसायलाई अन्य स्थानमा पुनः स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएकाले समयावधि थप गरेर वास्तविक दोषीलाई कठघरामा ल्याउन संघले जोड दिएको छ ।