close

शौचालयको विषयमा पेट्रोलपम्प सञ्चालकसँग महानगरको छलफल

शौचालयको विषयमा पेट्रोलपम्प सञ्चालकसँग महानगरको छलफल

Trulli
ADVERTISEMENT

विराटनगर । महानगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । 

विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो ।

विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । 

महानगरको आग्रह र प्रतिबद्धता

“महानगर बनाउने दायित्व यहाँका हरेक नागरिकको हो”, उनले भने, “त्यसो भएकाले पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि खुला गरौँ ।” पेट्रोलपम्पका शौचालयलाई सार्वजनिक रुपमै प्रयोग गर्न दिन उनले आग्रह समेत गरे ।

उपप्रमुख शिल्पा निराला कार्कीले पनि पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, “हामी सरसफाइ, सेनेटरी प्याड केकेमा हुन्छ सहयोग गर्न तयार छौँ । तर यसमा तपाईंहरूले सहयोग गर्नुपर्‍यो ।”  

'सार्वजनिक' लेख्दा समस्या, सुरक्षामा चुनौती

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले छलफल सकारात्मक भएकाले चाँडै नै यसले मूर्तरुपमा लिने विश्वास व्यक्त गरे ।

“सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन तयार छौँ, तर सार्वजनिक नै भनेर लेखेरै प्रयोगमा ल्याउँदा समस्या आउँछ”, पेट्रोलिय डिलर्स एशोसिएसनका प्रदेश महासचिव रुद्र कार्कीले भने, “संवेदनशील क्षेत्र भएकाले चुरोट खाने, जथाभावी फोहर गर्ने समस्या आउनसक्छ त्यसतर्फ पनि सचेत हुनुपर्छ ।” 

एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल बिडलाले सार्वजनिक शौचालयकैरुपमा प्रयोग गर्दा पेट्रोलपम्पको सुरक्षामा भने चुनौती देखिने उल्लेख गर्नुभयो ।

महानगर क्षेत्रभित्रका पेट्रोलपम्पमा रहेका शौचालयको अवस्थाको अनुगमन गरी व्यवस्थित बनाउनका लागि महानगर, नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधि रहने गरी समिति निर्माण गरिएको छ भने समितिले दिएको सुझावका आधारमा पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा निष्कर्षमा पुगिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।