close

लोप हुँदै पानीघट्ट

Trulli
ADVERTISEMENT

धनगढी । संरक्षणको अभावमा सुदूरपश्चिमका ग्रामीण भेगमा परम्परागत पानीघट्टलगायत सम्पदा लोप हुँदै गएका छन् । 

एक दशक अगाडिसम्म सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा अत्यधिक रुपमा गहुँ, मकै, कोदो, जौँ र फापरलगायतका अन्नबालीलाई पिस्न प्रयोग हुने पानीघट्ट अहिले लोप हुँदै गएको हो ।

पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा पिसानी (अन्न पिस्ने काम)का लागि पहिले पानीघट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग हुँदै आइरहेकामा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेका कारण पानीघट्ट लोप हुँदै गएको हो । 

अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । अधिकांश ठाउँमा मिलले विस्थापित गरेको छ । कैलालीको चुरे, मोहन्याल गाउँपालिका र डोटीको बडिकेदार, जोरायल गउँपालिकालगायतका सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँका स्थानीयबासीले केहीवर्ष अगाडिसम्म पानीघट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले सुदूरपश्चिमका गाउँमा विद्युतीय मिल ठाउँ—ठाउँमा सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । 

मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको चुरे गाउँपालिका -१ का स्थानीय कलावती देवी बमले बताइन् । उनले पहिले–पहिले घट्टमा आटोपिठो पिस्नेको घुइँचो लाग्ने गरेको बताउँदै अहिले सबै मिलमै कुटानीपिसानीको लागि जाने गरेको बताइन् ।

सुदूरपश्चिमका सातबाटै पहाडी जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी प्रविधिको विकाससंगै मिलमा हुने गरेका कारण पानीघट्टको माग कम हुँदै गएको दुई दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका बडिकेदार गाउँपालिका २ का नरबहादुर बोहोराले बताए ।

एक दशक अघिसम्म ग्रामीण जीवनको अभिन्न अंगजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्न आवश्यक रहेकाले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भएपनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने बुढापाकाको भनाइ छ ।

पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने चुरे गाउँपालिका-१ का वडा अध्यक्ष डम्मर सिंहले बताए ।