close

ललितपुर महानगरमा ३ दिने घरेलु प्रदर्शनी सुरु

ललितपुर महानगरमा ३ दिने घरेलु प्रदर्शनी सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं ।  ललितपुर महानगरपालिकाको आयोजनामा तीन दिने ललितपुर महानगर घरेलु प्रदर्शनी सुरु भएको छ । महानगरको प्रांगणमा शुक्रबारदेखि सो प्रदर्शनी सुरु भएको हो । 

महानगरपालिकाभित्र उत्पादन हुने सामग्रीबारे जानकारी दिन र बजारीकरण गर्नको लागि पालिकाले सो प्रदर्शनी गरेको हो । साना घरेलु उद्योग महासंघ तथा विभिन्न संघसंस्थाको सहकार्यमा प्रदर्शनी गरिएको पालिकाले जनाएको छ । 

महानगरका उपपमेयर मञ्जली शाक्य बज्रचार्यका अनुसार प्रदर्शनीमा स्थानीय क्षेत्रमा उत्पादन भएका हस्तकला, खाद्य, काष्ठकलालगायत विभिन्न सामग्री प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका सामग्री विक्री वितरण समेत हुनेछ । 

महानगरपालिकाले विगतका वर्षमा महिलालाई उद्यमी बनाउनको लागि विभिन्न सीप मूलक तालिम वितरण गर्दै आएको बताइन् । तर महिला उत्पादित सामग्रीको बजार नपाएको गुनासो आएपछि महानगरको पहलमा सो प्रदर्शनी राखिएको उनले पालिका खबरलाई बताइन् ।

पर्यटकको द्धारमा प्रदर्शनी राखिएकोले सो सामग्रीले विदेशमा पनि बजार पाउने विश्वास उनको छ । तीन दिनमा महिलाले आफूले उत्पादन गरेका सामग्री प्रदर्शन गरेर पछि बजार पाउने उनले बताए । 

तीन दिने प्रदर्शनीका लागि ४० वटा स्टलहरु राखिएको साना घरेलु उद्योगका जिल्ला अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । उनले प्रदर्शनीमा महानगरको सहकार्यमा महानगरबाट तालिम लिएका समूहलाई ४ वटा  स्टल निःशुल्क रुपमा प्रयोग गर्न दिएको बताए । अन्यलाई तीन दिनको ५ हजार र ६ हजारको रुपैयाँ शुल्क लिएको उनले बताए । 

अरु समय पनि हप्ताको दुई दिन स्टल प्रदर्शनी गर्ने दावी उनको छ । तर वर्षायाममा पानी धेरै पर्ने भएकोले प्रदर्शनी राख्न नसकेको उनले सुनाए । 

प्रदर्शनीमा स्टल राखेका रीना मल्लले समूहका महिलाहरुले उत्पादन गरेको सामग्रीहरुमा स्टलमा राखेको बताइन् । महानगरको आयोजनामा तालिम लिएका उनीहरुले आलु चिप्स, अचार लगायतका सामग्री प्रदर्शनीमा राखिएको जानकारी दिए । 

आफूहरुले समूहबाट सामग्री उत्पादन गर्दै आएपनि बजार नपाएकोले स्टलमा ल्याएको उनले बताइन् । सामानले बजार पाएपछि सोचेजस्तो विक्री नभएको तर स्टलबाट केही सहज पुग्ने विश्वास उनको छ ।